बीरगञ्ज । नितेश कर्ण । पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस वीरगञ्जमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी, जिल्ला तथा नगर समितिको आयोजनामा र्यालीसहित नगरपरिक्रमा गरिएको थियो । र्यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा ल्याउ, देश बचाउ, गणतन्त्र धोका हो, विदेशी डलरको पोका हो लगायतका नारा लगाएका थिए ।
वीरगञ्जको घण्टाघरबाट शुरु भएको प्रभातफेरी माइस्थान, आदर्शनगर, अलखिया मठ हुँदै घडिअर्वा पोखरी भएर पुन : घण्टाघरमा आएर कोणसभा सम्पन्न भएको थियो । सरोकार मञ्चका नारायणी अञ्चल संयोजक नन्दकिशोर गोयलको सभापतित्वमा कोणसभा तथा पृथ्वीनारायण साहको तस्बीरमा माल्यार्पण गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले बर्तमान राजनितिक परिस्थितीको सामना गर्नका लागी पृथ्वी नारायण साह जस्तै दुरदर्शी व्यक्तिको आवश्यक्ता खट्किएको बताएका थिए । बक्ताहरुले पृथ्वी नारायण साहले देशको लागी गरेको योगदान अविस्मरणिय रहेको भन्दै पौष २७ गते सरकारले सार्बजनिक विदा दिनुपर्ने माग गरेका थिए ।
नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य, वीरगञ्न महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति विक्रम साह, समाजसेवी उशा साह, मञ्चका केन्द्रिय सदस्य अर्जुनसिँह विष्ट, मञ्चका बारा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको राष्ट्रिय सरोकार मञ्चका प्रेस संयोजक प्रणय साहले जानकारी दिनुभयो ।
सो अवसरमा मञ्चका समाचारहरुलाई प्राथमिकता दिएकोमा ४ जना भारतिय पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी ४० जना महिलाहरुलाई साडी समेत वितरण गरिएको थियो । कार्यक्रममा लक्ष्मी साहित्य समाजका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।