वीरगञ्ज। वीरगञ्जको छपकैया र रानिघाटमा रहेका श्रीराम हल र बजरङ्ग हल सञ्चालनमा आएका छन् । विगत १० महिनादेखी बन्द रहेका सिनेमा हल शनिबारदेखि सञ्चालनमा आएका हुन् ।राजधानीमा यसअघि नै हल खुलिसकेको भएपनि वीरगञ्जमा भने शनिबारदेखी २ वटा हल सञ्चालनमा आएका हुन् । वीरगञ्जका अन्य हल भने अँझै पनि खुलेका छैनन् । हललाई हरेक शो पनि स्यानिटाइज गरेर सञ्चालन गरीरहेको श्रीराम हलका सञ्चालक सुर्याशं कुमार कलवारले बताए ।
हलमा सेनेटाइजेशन बुथ समेत बनाइएको र फिल्म हेर्न आउने सबैलाई सेनेटाइज गरेर मात्रै प्रवेश गर्न पाइने व्यवस्था गरिएको कलवारले जानकारी दिए । चलचित्र हेर्न आउने सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र मास्क नभए हलमै मास्कको समेत व्यवस्था गरिएको उनको भनाई छ ।
दिनमा ३ वटा शो हरु चल्ने गरेकोमा हिजो पहिलो दिनको पहिलो शोमा ४६ जनाको सहभागिता रहेको हलका हरीबंश कुमार कलवारले बताए । व्यवस्थापनका लागि बजरङ्ग हलमा ८ जना र श्रीराम हलमा १० जना स्टाफ समेत राखिएको छ । दर्शकहरुलाई एक वटा सिट छोडेर सामाजिक दुरी कायम गर्दै बस्ने व्यवस्था मिलाइएको छ ।