वीरगञ्ज । वीरगञ्ज महानगरको विभिन्न स्थानमा फुटपाथमा पार्किङ्ग गरेर राखिएका सवारी साधनलाई कारवाही गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर र सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुक्त टोलीले नगरको विभिन्न स्थानमा नियम विपरित पार्किङ्ग गरिएका १८ वटा मोटरसाइकललाई कारवाही गरेको हो ।
वीरगञ्जको आदर्शनगरदेखी पशुपति घोष चोकसम्म र पुजन होटेलदेखी घडिअर्वा पोखरीसम्मको सडक पेटीमा तथा फुटपाथमा पार्किङ्ग गरेर राखिएका सवारी धनीलाई कारवाही गरिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेताले जानकारी दिए ।
फुटपाथमा पार्किङ्ग गर्दा आवतजावत गर्ने सर्वसाधारण तथा पैदल यात्रुलाई समस्या हुने देखि दुर्घटनासमेत हुनेगरेको हुँदा अभियान थालिएको खेतानले बताए । यसअघि सोही टोलीले नगरका विभिन्न स्थानमा घुमेर नियम विपरित पार्किङ्ग नगर्न र ट्राफिक नियमको पालन गर्न भन्दै सचेतनामुलक कार्यक्रम समेत चलाएको थियो ।पटक-पटक आग्रह गर्दासमेत फुटपाथमा पार्किङ्ग गर्ने प्रवृति नरोकिएपछि बाध्य भएर कारवाही गर्न शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।