बीरगञ्ज । सक्रिय युवाहरुको समुह युवा बचनले कोभिड १९ को महामारीमा अग्रपङ्क्तिमा खटिएका ३२ जना चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सफाईकर्मीहरुलाई सम्मान गरेको छ ।
युवा बचनका केन्द्रिय उपाध्यक्ष रोहित शर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कोरोना भाइरसको हटस्पट बनेको वीरगञ्जमा आफ्नो ज्यानको प्रवाह नगरी संक्रमितहरुको सेवामा खटिएका ३२ जनालाई सम्मान गरिएको हो ।
अग्रपङ्क्तिमा खटिएका बरिष्ठ चिकित्सक डा. निरज कुमार सिँह, डा. उदयनारायण सिँह, डा. बिरेन्द्र बहादुर प्रधान, डा. असरफ हुसैन, डा. प्रवेज आलम, डा. मनोज कुमार गुप्ता, डा. दिपक कुश्वाहा, डा. रामकिशोर सिँह, डा. राकेश तिवारी, डा. अरुण कुमार कर्ण, डा. सहाबुद्धिन अन्सारी, डा. ओमप्रकाश कुश्वाहा लगायतका चिकित्सहरुलाई सम्मान गरिएको हो ।
साथै नारायणी अस्पतालका सफाईकर्मी रामकिशोर, दिपु कुमार, नेशनल मेडिकल कलेजका सफाईकर्मी गुड्डु राउतलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी विपद व्यवस्थापन गुल्म प्रदेश न. २ वीरगञ्जका प्रमुख प्रहरी निरिक्षक सरोज प्रजापति र सामाजिक अभियानता नुतन सरावगीलाई पनि सम्मान गरिएको युवा बचन वीरगञ्जका संयोजक किशन सर्राफले जानकारी दिनुभयो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा हुनुभएकी प्रमुख प्रहरी उपरिक्षक गङ्गा पन्तलाई सम्मान तथा विदाई गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक पन्तले कोरोनाको हटस्पट बनेको वीरगञ्जमा यहाँका स्वास्थ्यकर्मी, सामाजिक संघ संस्था, स्थानीय निकाय लगायतको समन्वयमा न्युनिकरण गर्न सफल भएको बताउनुभयो ।
त्यसैगरी वीरगञ्जबाट आफु सरुवा भएर गएपनि वीरगञ्ज तथा समग्र पर्साबासीको माया र सम्झना सदैव रहीरहने उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा उच्च अदालत वीरगञ्जका रजिष्ट्रार ठगिन्द्र कट्टेलले युवाहरुले पनि स्वास्थ्यकर्मीले गरेको कामको मुल्याङ्कन गरेर सम्मान गर्नु अत्यन्तै सह्रानिय र अनुकरणिय रहेको बताउनुभयो ।
साथै आगामी दिनमा पनि देशका मेरुदण्ड भनिएका युवाहरुले यस्तै किसिमिका सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युवा बचनका सल्लाहाकार दिलपाल साहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । युवा बचनका सदस्य अवधकिशोर, आयुष जाटिया, संगम पण्डित लगायतको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो ।