स्रोत नखुलेको १ करोड ४७ लाख रकमसहित दुई जना पक्राउ
वीरगंज संजाल
२० पुष २०७७, सोमबार २०:४८
२७३३
काठमाडौं ।नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकम सहित सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारू रहेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनि विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
‘उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जनाएको छ