वीरगंज | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो।
पहिलो चरणको आन्दोलन अन्तर्गत जिल्ला सदरमुकाम र काठमाडौंमा प्रदर्शन तथा भेला गरेको यो समूहले दोस्रो चरणमा वडा तहसम्म विरोध प्रदर्शन गर्ने भएको छ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार २० पुससम्ममा पालिकास्तरमा र २५ पुससम्ममा वडास्तरमा भेला तथा संघर्ष सम्बन्धी अभिमुखिकरण गरिनेछ।
२५ पुसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गरिने संयोजक श्रेष्ठले बताए। २१ पुसमा काठमाडौं र शहरी केन्द्रहरूमा विभिन्न राजनीतिक दलसँग र २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने यो समूहको कार्यतालिका छ।
यस्तै, २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, विरोध पत्रसँगै संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरि गलत कदम सच्याउन अनुरोध गर्ने श्रेष्ठले बताए।
२३ माघसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको दाहाल-नेपाल समूहले विभिन्न प्रदेशहरूमा अभिमुखिकरण, सडकमा संविधान वाचन–व्याख्या, निर्वाचन क्षेत्रस्तरीय भेला, विरोध प्रदर्शन र भेलालगायतका कार्यक्रम गर्ने जनाएको छ।
यस्तो छ दाहाल–नेपाल समूहले घोषणा गरेको आन्दोलनको कार्यक्रम