वीरगंज। ग्रामीण दूरसञ्चार विकास परियोजना अन्तर्गतको चार वर्षअघि सुरु भएको ब्रोडब्याण्ड विस्तार परियोजनाको ७०.१६ प्रतिशत काम सम्पन्न भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिएको सो परियोजना अन्तर्गत अझै पनि चार हजार सात सय ६९ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्न बाँकी छ ।
विभिन्न इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई विस्तारका लागि ठेक्का सुम्पिएको सो परियोजना अन्तर्गत हालसम्म ११ हजार दुई सय १३ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडानको कार्य सम्पन्न भइसकेको छ ।
सरकारले स्थानीय निकायको कार्यलय, वडा कार्यलय, विद्यालय तथा स्वास्थ संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्न चार वर्षअघि विभिन्न सेवा प्रदायकहरुसँग सम्झौता गरेको हो ।
परियोजना अन्तर्गत अझै पनि १९० स्थानीय निकायका कार्यालय, १७ सय २० वटा वडा कार्यालय, १७२० वटा मध्यामिक विद्यालय र ११ सय ३९ वटा स्वस्थ संस्थाहरुमा इन्टरनेट जडान गर्न बाँकी छ ।
१८ वटा प्याकेजमा विभाजन गरिएको सो परियोजनामध्यको १२ वटा प्याकेज अन्तर्गतका ४६ जिल्ला बमोजिमका स्थानहरुमा शतप्रतिशत कार्य सम्पन्न भइसकेको प्राधिकरणद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।
यस्तै २ वटा प्याकेज अन्तर्गत तोकिएका ९ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भएर बाँकी काम पनि सञ्चालनमा छ ।
बाँकी रहेका ४ वटा प्याकेज अन्तर्गतका १९ जिल्लामा भने तोकिए बमोजिमको स्थानहरुममा सेवा प्रदायक छनौट भएर विस्तारको काम अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ ।
यस्तै सम्पन्न भइसकेका परियोजनामध्ये ४ वट परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । यस्तै दुईवटा परियोजनाको भने प्राधिकरणद्वारा नियुक्त परामर्शदाताबाट पहिलो चरण र अन्य ६ वटाको भने दोस्रो चरणको अनुगमन तथा प्रमाणीकरण कार्य भइरहेको छ ।
बाँकी दुईवटा परियोजनाको भने पर्फमेन्स मोनिटरिङको कार्य भइरहेको प्राधिरकणको प्रतिवेदनमा बताइएको छ ।
पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार २७६ रुपैयाँको उक्त परियोजनामा हालसम्म प्राधिरणले सम्झौता गरिएका सेवाप्रदायकलाई दुई अर्ब ७४ करोड ९५ लाख ५० हजार ३७६ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
हालसम्मको परियोजनाको वित्तीय प्रगति ४८.४५ प्रतिशत रहेको छ ।