वीरगंज। शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले ई-क्लास नेपाल एप सञ्चालनमा ल्याएको छ । एपमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रम, शिक्षक गाइड र नमुना प्रश्नपत्र राखिएको छ ।
१० हजारपटक डाउनलोड भइसकेको एपलाई प्रयोगकर्ताले ३.६ रेटिङ दिएका छन् । ‘एप ढिलो खुल्ने, गणित र विज्ञानका विषय किन नेपालीमा मात्रै ?’ भन्दै प्रयोगकर्ता नव परिवेशले दुई स्टार दिँदै प्रतिक्रिया लेखेका छन् । यस्तै, प्रयोगकर्ता हरिप्रसाद पौडेलले कक्षा १० को अंग्रजी पाठ्यक्रमको उच्चारण र शैली चित्तबुझ्दो नभएको भन्दै भिडियोप्रति लक्षित गर्दै प्रतिक्रिया लेखेका छन् ।
मन्त्रालयले असारमा अनलाइन शिक्षालाई पनि मान्यता दिने भनेपछि अधिकांश विद्यालयमा अनलाइनमा पढाउन सुरु गरिएको थियो भने श्रव्यदृश्य माध्यममार्फत पाठ्यपुस्तक पढाइएको थियो । ई-क्लास नेपाल यसैको विस्तारित रुप भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए । उनका अनुसार कोरोना नहुँदै सन् २०१३ मै शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबारे गुरुयोजना (आईसीटी मास्टर प्लान) अघि सारिएको थियो । सरकारको डिजिटल नेपालको फ्रेमवर्कमा शिक्षा पनि जोडिएको हुनाले ढिलोचाँडो शिक्षामा प्रविधिको प्रयोग हुने भएकाले कोभिडले गर्दा कार्यक्रम अगाडि धकेलिएको उनले जानकारी दिए ।
एप अहिले एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध छ । एप विकास गर्न सरकारसँग प्रविधिमा काम गर्ने संस्थाले साझेदारीमा विकास गरेको केन्द्रले जनाएको छ । एप नि:शुल्क बनेकाले त्यसको सर्भर सिस्टम ब्यान्ड भने खासै बलियो नभएको दाहालले जिकिर गरे । उनले चरणबद्ध रुपमा एपलाई विस्तार गर्दै लैजाने र त्यसको क्षमता बढाउन सरकारले पनि लगानी गर्न सक्ने बताए ।
अहिले एपमा अनलाइनमा पढ्नका लागि बनाइएका श्रव्यदृश्य भिडियोहरु छन् । पाठ्यक्रमहरु उपलब्ध भएसम्म नेपाली र अंग्रेजी दुवै भाषामा राखिएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका हकमा एप चलाउन अभिभावकले चलाउनुपर्ने हुन्छ ।
यस्तै, अपांगता भएका विद्यार्थीको हकमा एप अपांगतामैत्री भने बन्न सकेको छैन । एपमा १० प्रकारका अपांगतालाई समेट्ने गरी पाठ्यक्रम तयार पार्न नसकेको दाहालले स्वीकार गरे । उनले बहिरा महासंघसँग मिलेर बहिरा विद्यार्थीको हकमा सयवटा पाठ्यक्रम तयार पार्न लागेको बताए । पुसभित्रमा बहिरामैत्री भिडियो अपलोड भइसक्ने त्यसका लागि पाठ्यसामग्री मापदण्डअनुरुप छ कि छैन, हेर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।