वीरगंज | नारायणी अस्पताल वीरगंजमा कर्मचारीहरुको मनपरीतन्त्र मौलाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले मंसिर २९ गते गरेको छड्के अनुगमनमा एकै दिन १२२ जना कर्मचारीहरु अनुपस्थित देखिए।पर्साका प्रजिअ आस्मान तामाङको टोलीले गरेको छड्के अनुगमनमा एक दर्जन सिनियर चिकित्सक, एक दर्जन मेडिकल अधिकृत, एक दर्जन चिकित्सक, नर्सिङ अधिकृत, स्टाफ नर्स, अहेब, हेल्थ अस्सिटेन्ट, फार्मेसी, फार्मेसी अधिकृत, फार्मेसी सहायक, स्टोरकिपर, सुब्बा, खरिदार, ल्याब टेक्निसियन, रेडियोग्राफर, मुखिया रिसेप्सन तथा कार्यालय सहयोगी, सफाइकर्मीलगायत गयल भएको छानबिनबाट देखिएको छ।
कोरोनाको सन्त्रासबीच एकातिर कर्मचारीहरुले सामाजिक दुरी तथा स्वास्थ्यका मापदण्ड अपनाई एउटा विभागमा सीमित सङ्ख्यामा मात्र बिरामी जाँच गर्ने गरेका छन् भने अर्कोतिर कर्मचारी अनुपस्थित हुने गरेको देखिएको छ। जसमा नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुरको लापरबाही देखिएको छ।
गयल हुने चिकित्सकहरुमा सुरेन्द्रप्रसाद चौधरी, रामपुकार साह, विजयराज खनाल, महम्मद एनामुल हक, मुकेश अग्रवाल, सरोजकुमार सिंह, मोनिका यादव, सोनी झा, हरिशकुमार साह, सपना अग्रवाल, बाबू धनेन्द्र चौरसिया, रन्जितकुमार राउत, जितेन्द्रप्रसाद मण्डल, राजीवकुमार सिंह, अनिलकुमार यादव, विप्लव मानन्धर, आकाश गुप्ता, विमला महर्जन, अजितकुमार साहलगायत रहेको देखिएको छ। नारायणी अस्पतालको प्रशासन झुर बन्दा यस्तो हविगत देखिएको प्रशासनको ठम्याई छ।
गयल हुने कर्मचारीहरुले बिदा पनि नभरेको र केही १५ गतेदेखि २९ गतेसम्म पनि अनुपस्थित भएको देखिएको छ। त्यसैगरी, अग्रीम हाजिरी गर्ने ५ जना कर्मचारीमा कन्सलटेन्ट, एनेस्थेटिस्थ डा सन्देशकुमार यादव, डा रोहित गुप्ता, सहायक पाँचौं टाफ नर्स पुनम पासवान, अहेब रुपेश हजरा, पियन मनराज साह तेली रहेका छन्। उनीहरुले मंसिर ३० गतेको हाजिरी रजिस्टरमा २९ गते नै अग्रीम हाजिरी गरेको देखिएको छ।
गयल हुनेलाई आवश्यक कारबाहीका लागि मेसु ठाकुरलाई निर्देशन दिइएको प्रजिअ तामाङले बताए। यता, नारायणी अस्पतलाका मेसु डा सन्जय ठाकुरले अस्पतालमा ३२२ जनाको दरबन्दी रहेकोमा हाल २६० जना कर्मचारी कार्यरत रहेको बताए। उनले गयल हुने कर्मचारीहरुको हकमा बिदाको संञ्चिती देखेर विभागीय कारबाहीको लागि सिफारिस गरिने प्रतिक्रिया दिए।राधेश्याम पटेल