जनकपुरधाम । नागरिकता वितरणसहित अन्य कामका लागि स्वास्थ्य मापदण्डको पालना नगराएको जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचय पत्रका सेवाका निम्ति तालिका बनाएको छ ।
हप्ताको सातै दिन विभिन्न स्थानीय तहलाई राष्ट्रिय परिचय पत्रका सेवाहरु उपलब्ध गराउने भन्दै जिल्ला प्रशासन कार्यालयले तालिका बनाएको छ ।
मंगलबार जनकपुरधाम उप महानगरपालिका, मिथिला बिहारी र क्षिरेश्वरनाथ नगरपालिकाका सेवाग्राहीलाई, बुधबार जनकनन्दनी, लक्ष्मीनियाँ र औरही गाउँपालिका, बिहीबार जनकपुरधाम उप महानगरपालिका, मुखियापट्टी र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला, शहीदनगर र मिथिला नगरपालिका तथा धनाौजी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने उक्त कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा अत्यधीक भींड लाग्ने गर्दछ । सेवा लिन आएका सेवाग्राही बिना मास्ककै टाँसिएर लाइनमा लाग्ने गरेका छन् ।
भौतिक दुरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाएर सेवा प्रवाह गर्नुपर्नेमा यो कार्यालयमा त्यस्तो देखिएको छैन् ।