सर्लाही | अलपत्र हुलाकी सडकको स्तरोन्नति र नेपाल–भारत सीमानाका खुलाउनु पर्ने माग राख्दै मंगलबार सर्लाही सदरमुकाम मलंगवा बन्द गराइएको छ ।यी दुई मागसहित मंसिर २१ गतेदेखि सर्लाहीमा धर्ना जारी छ । माग पूरा गराउनका लागि सर्वदलीय संघर्ष समिति बनाइएको छ ।
पूर्वघोषित आन्दोलनको कार्यक्रमअनुसार मंगलबार बिहानदेखि मलंगवा बजार बन्द गराइएको संघर्ष समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीले बताए । उनले बुधबार जिल्ला बन्दको समेत घोषण गरिएको जानकारी दिए । बन्दका कारण पसल खुलेका छैनन् भने सार्वजनिक यातायातका साधन पनि चल्न सकेका छैनन् ।
धुलाम्मे हुलाकी सडकको तत्काल स्तरोन्नति हुनपर्ने र मुख्य नाका बाहेक खेतै खेतको बाटो भएर निर्वाध रुपमा आउजाउ भइरहेकाले मुख्य नाका खोलिनुपर्ने मागसहित गत आइतबारबाट सर्लाहीमा आन्दोलन जारी छ । नागरिकको दबाबपछि गत सोमबारबाट नेपालतर्फका नाका बिरामी बोक्ने एम्बुलेन्स, शववाहन र बेहुला बोक्ने गाडीका लागि खोलिए पनि भारतीय पक्षका एसएसबीको अवरोधले सुरु हुन सकेको छैन । मुख्य नाका नखुल्दा अत्यावश्यक कामले वारिपारि गर्नेलाई समस्या भएको छ ।
यस्तै वर्षौंदेखि जीर्ण रहेको सर्लाही खण्डको हुलाकी सडकले काँचुली फेर्न नसक्दा यस क्षेत्रका स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य छन् । संग्रमपुरदेखि पश्चिम बलरासम्म कुल ४० दशमलव २३ किलोमिटर रहेको सडक अहिले पनि कालोपत्रको पर्खाइमा छ । ०७३ सालमा पाँच वर्षभित्र तीन प्याकेजमा कालोपत्र गर्न ठेक्का लागे पनि कालोपत्रको काम सुरु नै हुन सकेको छैन । म्याद समाप्त हुन लाग्दासमेत सडकको अवस्था उस्तै रहेको छ ।