रौतहट | रौतहटको गरुडा नगरपालिका–५ स्थित शिव मन्दिरमा नाबालिकासित विवाह गर्न लागेका बेहुलालाई रौतहट प्रहरीले मंगलबार मण्डपबाटै पक्राउ गरेको छ । बेहुलासहित विवाह गराउने पण्डित र आफन्तहरु पनि पक्राउ परेका छन् ।
शिव मन्दिरमा माधोनारायण नगरपालिका–६ की १५ वर्षीया बालिकासित विवाह गर्न लागेका इशनाथ नगरपालिका –३ औरैयाका २२ वर्षीय बेहुला मुकेश गिरीलाई मण्डपबाटै पक्राउ गरिएको इलाका प्रहरी गरुडाका डिएसपी रवि रावलले बताए । ‘केटा पक्षले केटी पक्षलाई प्रलोभनमा पारेर बालविवाह गर्न लागेको रहेछ,’ उनले भने, ‘उमेरै नपुगी बालविवाह गर्नेलाई जिल्लाले कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।’
गरुडा प्रहरीले पक्राउ गरेका बेहुलासहित ६ जनालाई सदरमुकाम गौरस्थित जिल्ला प्रहरी पठाइसकेको छ । प्रहरीले विवाह मण्डपबाट बेहुलाका बुबा रामसागर गिरी, आफन्त राम श्रेष्ठ गिरी र विवाह गराउने पण्डित कपिलदेव चौवेलाई विवाह हुँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । बेहुला र नाबालिका पक्ष गरी ६ जना पक्राउ परेको प्रहरीले जनायो । प्रहरीका अनुसार बालिकाको उमेर १५ वर्ष रहेको छ । अभिभावकले भने उनको उमेर १८ वर्ष भएको दाबी गरेका छन् ।
बालिकाको घरको आर्थिक स्थिति कमजोर भएकाले उनको बिहे गरेर पठाउन लागेको आफन्तले प्रहरी समक्ष बताएका छन् । मुकेशले १२ कक्षा पास गरेका छन् । उनी बोल्न र सुन्न सक्दैनन् । जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बालविवाह गराउनेहरुलाई थप अनुसन्धान पछि मुद्दा चलाउने तयारी भइरहेको बताए । ‘बालिकालाई ललाइफकाइ विवाह गराउनु कानुनी रुपमा दण्डनिय छ,’ उनले भने, ‘यस्तो हर्कत गर्नेहरुलाई कानुनी कारबाही गर्नुपर्छ ।’
मुलुकी अपराध संहिता ऐन २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष पुग्नु पर्छ भनेको छ । उमेरै नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । कसैले कानुन विपरीत विवाह गराएमा वा भएमा स्वत बदर र त्यस्तो कसुर गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । गरुडा प्रहरीले विभिन्न समुदायका पण्डित, धर्मगुरुहरुको नाम संकलन गरेर बालविवाह नगराउन अनुरोध गर्न लागेको छ । यसका लागि पण्डितहरुको नामावली संकलन गर्ने काम भइरहेको डिएसपी रावलले सुनाए ।