काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६३औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी कवि भैरवी भूगोलको कविता ‘नेपालको गीत’ प्रथम भएको छ ।
लमजुङका कवि प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ द्वितीय तथा सोलुखुम्बुका कवि गणेशप्रसाद खतिवडाको कविता ‘आमाको आदेश’, दोलखाकी कवि देवकी अभिलाषीको कविता ‘आमा : एक विश्वविद्यालय’ र तेह्रथुमकी कवि रेजिना आपगाईंको कविता ‘समृद्ध नेपालको सपना’ तृतिय भएका छन् ।
देशका विभिन्न भागबाट सहभागी भएका प्रतियोगी कविहरूमध्ये उल्लेखित कविता र कवि प्रथम, द्वितीय र तृतीय भएको प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो ।
कविता प्रतियोगिताका निर्णायकमा डा. हेमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई थिए ।
महोत्सवमा राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताको सङ्ग्रहको विमोचन तथा विभिन्न कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञासेवा पदक प्रदान गरिएको छ ।