वीरगंज। नेपाल वायुसेवा निगमले १० वर्षे एकीकृत व्यवसायिक योजना सरकारलाई बुझाएको छ । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले व्यवसायिक योजना बुझाएका हुन् । निगमले सन् २०२१ देखि २०३० सम्मको व्यवसायिक योजना बनाएको हो ।
व्यवसायिक योजनाअनुसार सन् २०२४ देखि निगम नाफामा जाने प्रक्षेपण गरिएको छ ।
त्यसयता भने निगम नोक्सानमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सन् २०२४ देखि नाफा बढाउँदै सन् २०३० सम्म वार्षिक पाँचअर्ब ३० करोड नाफा हुने अनुमान निगमको छ । त्यसका लागि निगमको ९ वटा अन्तर्राष्ट्रिय र २६ वटा आन्तरिक गन्तव्य विस्तार गर्ने योजना छ ।
निगमले गोन्जाओ, कोलम्बो, साङ्घाई, इनचान, हमदावाद, रियाद, सिड्नी, इन्डोनेसिया र फ्रायाङ्फर्ड गन्तव्य बनाउने योजना बनाएको छ ।
हाल निगमले अन्तर्राष्ट्रियतर्फ ९ वटा र राष्ट्रियतर्फ १० वटा गन्तव्य उडान गरिरहेको छ । यसैगरी निगमले यी गन्तव्यमा सेवा विस्तार गर्न ४ वटा न्यारो बढी र २ वटा वाइड बडी गरी ६ वटा विमान आवश्यक पर्ने जनाएको छ । निगमका महाप्रबन्धक पौडेलले सरकारको १५ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम, हवाई नीति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस एवम् विगतमा तयार भएका व्यवसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर १० वर्षे व्यावसायिक योजना बनाएको बताए ।
उनले प्रतिवेदनमा निगमको वित्तीय अवस्था, बजार विश्लेषण, कोभिड–१९ ले निगमको व्यवसायमा पारेको असर समेटिएको बताए । उनले नेपाल सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई सुक्ष्म रुपमा उल्लेख गरिएको पनि बताए । प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका थिए ।
निगमले तयार पारेको १० वर्षे एकिकृत व्यावसायिक योजना प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले त्यहाँभित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएका सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने बताए । १० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले उक्त राजमार्गबाट दायाँबाँया नगरि अहिले घाटामा रहेको निगमलाई व्यवसायिकरुपमा सफल बनाउनुपर्ने बताए ।