जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाह महोत्सव सुरु भएको छ। एक हप्तासम्म चल्ने विवाहपञ्चमीको पहिलो दिन आज जनकपुर नगरदर्शन विधि सम्पन्न गरिएको छ।
कोरोना महामारीको बिच भईरहेको नगरदर्शन यस पटक प्रभावित भएको छ। अन्य वर्ष जानकी मन्दिरको प्राङ्गनमा यो विधि गरिन्थयो तर यस पटक भने मन्दिरको भित्रै यो विधि गरिएको छ।
विवाहपञ्चमी शुरु भएपछि भरीभराउ हुने जनकपुरधाममा अहिले खासै प्रभाव परेको छैन् । यस वर्ष जानकी मन्दिरको प्राङ्गनमा रामलिलाको लागि लगाइएको पण्डालभित्रै झाँकी सहित नगरदर्शन विधि मनाइएको छ।
मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम मनाइने गरिन्छ। विवाह पञ्चमीको पहिलो दिन सोमबार जानकी मन्दिरमा नगर दर्शन विधि गरिएको छ।
भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ। नगरदर्शन विधिको अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो।
त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको हुन सक्ने संस्कृतिविद डा. रेवतीरमण लाल बताउँछन्। यो विषयमा वाल्मिकी रामायणमा समेत उल्लेख रहेको पाइन्छ।
अब विवाहपञ्चमीको दोस्रो दिन मंगलबार फुलबारी लिला, बुधबार धनुष यज्ञ, बिहिबार तिलकोत्सव, शुक्रवार मटकोर, शनिवार मुख्यदिन शुभविवाह र अन्तिम दिन रामकलेवा गरी विधिवत रुपमा यस समारोहको समापन गरिनेछ।