काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोली ‘भूत’ को संज्ञा पाएकी इरानको इन्स्टाग्राम स्टार फतेमेह खिसबन्दलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
उनलाई गत वर्ष इसनिन्दा र युवाहरूलाई भ्रमित पारेको आरोपमा गिरफ्तार गरिएको थियो । जेलमा कैद रहेको बेला उनलाई गत अप्रिलमा कोरोना भाइरस संक्रमण भएको थियो ।
फतेमेह खिसबन्द इरानमा ‘शहर तबर’को नामले पनि चिनिन्छ । इरानका वरिष्ठ पत्रकार तथा सामाजिक कार्यकर्ता मासिह अलाइनजादले शुक्रबार ट्विटमा फतेमेह खिसबन्दको सजायबारे खुलासा गरेको हो । उनले ती इन्स्टाग्राम स्टारको रिहाइका लागि अनुरोध गरेका छन् ।
इरानमा इसनिन्दाविरुद्ध कडा सजायको प्रावधान छ । कम उमेही फेतेमेह खिसबन्दलाई अन्यायपूर्ण तरिकाले सजाय दिइएको पत्रकारले दाबी गरेका छन् । सन् २०१७ मा फेतेमेह सामाजिक सञ्जालमा शहरको नामले चर्चित थिइन् ।
त्यतिबेला उनले करिब ५० सल्यक्रिया गराएकी थिइन्, ताकी एन्जेलिना जोलीजस्ती बन्न सकून् । सहरले त्यतिबेला आफ्नो वजन ४० किलोग्रामभन्दा माथि बढ्न नदिएको बताएकी थिइन् ।