रौतहट | रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट एक भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतमा घर बताउने २१ वर्षीय नितेश कुमार पटेल रहेका छन्।भारतबाट नेपालतर्फ आउँदै गरेका पटेललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका पटेललाई बरामद पेस्तोसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको एपीएफले जनाएको छ।यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फरहदवाबाट खटिएको एपीएफ टोलीले एउटा नक्कली पेस्तोलसहित सर्लाही जिल्लाको हरिपुर नगरपालिका ४ स्थित गौर चेकप्वाईन्टबाट एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही जिल्लाको बरहथवा नगरपालिका २ बस्ने २२ वर्षीयअर्जुनकुमार यादव छन्।
मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बा ५३ प ५४०० नम्बरको मोटरसाइकलमा सवार यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त नक्कली पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो।एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ।पक्राउ परेका यादवलाई बरामद नक्कली पेस्तोल तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा बुझाइएको छ।