नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवेदन अझै दुई महिना नखुल्ने भएको छ।
झण्डै नौं महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा भीड हुने र संक्रमण फैलनसक्ने भन्दै तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने योजना बनाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए।
उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ।
त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ,’उनले भने।
नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको अनलाइन सिस्टम विभागसँग हुन्छ।
त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ।
प्रदेशले पनि हतारमा खोल्नु भन्दा तत्काल स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन्।
सेवाग्राहीले हतार गरे पनि संघीय सरकार र प्रदेश सरकार दुबैले अहिले नखुलाउने सोचेका छन्,’उनले भने।
विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ संक्रमण नेपालमा समेत देखिन थालेपछि सरकारले गत चैतमा लकडाउन गरेको थियो।
चार महिनासम्म ठप्प भएको सरकारी कार्यालय असारबाट खुलेका थिए।
असारमा यातायात कार्यालयले नवीकरण र वितरण सुरू गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन्।
विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको छ।
विभागले ‘मास प्रिन्टर’ बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो।