बीरगंज। मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आजबाट आफनो प्रसारणको १८ वर्ष पुरा गरी गौरवमय रुपमा १९ औँ बर्षमा प्रवेश गरेको छ । रेडियो वीरगंजको १८ औं बार्षिक उत्सवकोअवसरमा आज रेडियो परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा रेडियो वीरगंजकी समाचार वाचिका निलिमा पौडेललाई उत्कृष्ट कर्मचरीको रुपमा नगद ११ हजार सहित सम्मान पत्र, दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा रेडियो वीरगंजमा १८ बर्ष देखि निरन्तर रुपमा कार्यरत रहि अभिभावकको भूमिका रहनु भएको भन्दै सम्पादक रामनारायण कुर्मीलाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको छ ।
सो अवसरमा रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीलाई रेडियोको स्तर वृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा रेडियो वीरगंजका समाचार वाचक एवं कार्यक्रम प्रस्तोता उज्जवल घिमिरे, लेखाप्रमुख राजेश चौधरी, मार्केटिङ्ग प्रमुख महम्मद जनाव आलम, समाचार वाचिका एवं कार्यक्रम प्रस्तोता अनिता कुँवर, समाचार वाचक एवं प्राविधिक रंजित यादव, सम्वाददाता आरके पटेल, राधेश्याम पटेल, युवराज खड्का, छठु साह, ओमप्रकाश चौधरी, सिकेन्द्र पासवान, संजय मिश्र, प्राविधिक रामप्रवेश चौधरी, ओमप्रकाश मिश्र, प्रदिप पडित, विपिन साह, कार्यक्रम प्रस्तोता मंकेश्वर गुप्ता, समाचार वाचक प्रवेज आलम, सुरक्षागार्ड किशोरी साह, प्रेम पटेल, कार्यालय सहयोगी लालझरी देवी सहित २७ जना कर्मचारीलाई सम्मान गरिएको छ ।
सो अवसरमा कर्मचारीहरुको सुखदुःखमा साथ दिने कुशल व्यवस्थापकको रुपमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहलाई सम्मान गरिएको थियो । कर्मचारीहरुको तर्फबाट साहलाई दोसल्ला ओढाउनुका साथै प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सांसद प्रदिप यादवले मधेशाको पहिचान गम्छा, र नेपालीको प्रतिक ढाकाको टोपी लगाएर सम्मान गर्नु भएको थियो ।यसैविच रेडियो वीरगंजले १८ बर्ष पुरा गरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा कार्यकारी अध्यक्ष ध्रुव साहले एक प्रेस विज्ञप्ती जारी गरी रेडियो बीरगंजका आम स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरु प्रति आभार प्रकट गर्नु भएको छ ।
साह द्वारा जारी विज्ञप्तीमा सबैको अपार स्नेहका कारण अहिले २ हजार वाटमा रेडियोको प्रसारणलाई प्रदेश २ का सबै जिल्ला तथा प्रदेश ३ का समेत अधिकांश जिल्लाहरुमा रहेका स्रोता माझ पुर्याईएको बताउनु भयो । उहाँले गत बर्ष रेडियो टावरलाई आधुनिकिकरण गरी ४० फिट थप अग्लो बनाइ प्रसारण क्षमतामा तराईकै पहिलो रेडियो वन्ने जमर्को गरेको समेत विज्ञप्तीमा उल्लेख गर्नु भएको छ । रेडियो बीरगंज मध्यतराई मै पहिलो पटक चौविसै घण्टा प्रशारण हुने एक मात्र रेडियो रहेको र अहिले १८ औ वार्षिकोत्सव मनाई रहदा रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रेडियो पोखरिया १०५.८ मेगाहर्ज र टेलिभिजनको दुनियामा श्रोतालाई अब दर्शकको रुपमा समेत समेटने प्रयास स्वरुप टिभी वीरगन्जको परिक्षण प्रशारण गरि रहेको जानकारी दिनुभयो ।
विज्ञप्तीमा १८ बर्ष सम्म रेडियो वीरगंजलाई अपार माया, स्नेह, प्रदान गर्ने स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरुको विश्वासलाई थप मजबुद बनाउन रेडियो वीरगंजले रेडियो पोखरीया र टिभी विरगंज श्रोता तथा दर्शकहरु माझ ल्याएको बताउदै आगामी दिनमा मनोरञ्जनको दुनियामा रम्ने श्रोताहरुका लागि म्युजिकल एफएम १००.३ मेगाहर्ज छिट्टै श्रोता माझ ल्याउने प्रतिबद्धता समेत कार्यकारी अध्यक्ष साहले जाहेर गर्नु भएको छ ।