अमेरिकी सर्वोच्च अदालतले चुनावी नतिजा उल्ट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आधारहीन प्रयासलाई खारेज गरिदिएको छ ।राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सस, जर्जिया, मिसिगन, पेन्सिलभेनिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो । ती चार वटै राज्यमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जितेका थिए ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार जारी गरेको संक्षिप्त आदेशमा उक्त मुद्दालाई सर्वोच्च अदालतमा अघि बढाउन कुनै कानुनी आधार नभएको उल्लेख गरेको छ । ती चार राज्यको चुनावी नतिजालाई अमान्य घोषणा गर्न १८ वटा राज्यका महान्यायाधीवक्ता र १०६ जना रिपब्लिकन सांसदको समर्थन ट्रम्पले पाएका थिए । अमेरिकी राष्ट्रपति चुनावमा धाँधली भएको र यसलाई सर्वोच्च अदालतको सल्टाउनुपर्ने माग गर्दै आएका ट्रम्पलाई पनि यो आदेशले धक्का पुगेको छ ।
टेक्सस राज्यका महान्यायाधीवक्ता केन प्याक्सटनले सर्वोच्च अदालतको आदेशलाई ‘दूर्भाग्यपूर्ण’ बताएका छन् । उनले आफूहरुको लडाईं जारी रहने पनि बताएका छन् ।यसअघि पेन्सिलभेनियामा बाइडेनको जितलाई अमान्य करार गर्नुपर्ने मागसहित परेको मुद्दा पनि सर्वोच्च अदालतले खारेज गरेको थियो । नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पको टिमले दर्जनौं मुद्दा दायर गरेको छ । कुनै पनि मुद्दामा बाइडेनको जित उल्टिने सम्भावना देखिएको छैन ।
डेमोक्रेटिक प्रत्यासी बाइडेनले ३०६ इलेक्टोरल भोट ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् भने २३२ भोट मात्र ल्याएका राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुन सकेनन् ।