वीरगंज। नेपालमा १ हजार ४४ कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएकामा ६ सय ३३ पुरुष र ४ सय ११ महिला गरी १ हजार ४४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म १८ लाख २० हजार ८ सय १८ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ पुगेको छ ।
योसहित कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ३२ हजार ८ सय ७२ रहेको छ । कोरोना निको हुने दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख छ ।
चौविस घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या १ हजार ६ सय ७४ पुगेको छ । आइसियुमा उपचारत ३ सय ९ र भेण्टिलेटरमा जम्मा ५७ जना उपचाररत छन् ।