वीरगंज | प्रदेश नं. २ का न मुख्यमन्त्री लालबावु राउतले धनुषाको क्षिरेश्वर नगरपालिकास्थित महेन्द्रनगरमा नवनिर्मित सर्पदंश उपचारकेन्द्रको आज शुभारम्भ गरेका छन् । बाईस शय्याको सो केन्द्र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को रु एक करोड २० लाखको लागतमा निर्माण गरिएको हो ।
साथै सो नगरपालिकाले उपकरणका साथै अन्य व्यवस्थापनमा रु एक करोड खर्च गरेको जनाइएको छ । उपचारकेन्द्रको सञ्चालनको व्यवस्थासमेत नगरपालिकाले गरेको नगरप्रमुख योगेन्द्र पजियारले जानकारी दिनुभयो । केन्द्रमा सर्पदंश बिरामीका निःशुल्क उपचार गरिनेछ । नेपाली सेनाका चिकित्सक टोलीले उपचार गर्नेछन् ।
सो अवसरमा मुख्यमन्त्री राउतले सर्पदंश उपचारकेन्द्र सञ्चालनमा आएसँगै सर्पदंशको कारण जनताले अकालमा मृत्युवरण गर्न नपर्ने बताए । गर्मी र बर्षायामको समयमा सर्पको विगविगी रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले एन्टिभेनम खोप उत्पादनका लागि प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए।
सर्पदंश उपचारकेन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरप्रमुख पजियारले उपचार केन्द्रको सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले काम गर्ने बताए ।