वीरगन्ज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई खोजेकामा विमति जनाएका छ । भिजिट भिसामा कडाइ गर्नकै लागि गृह मन्त्रालयले अध्यागमन कार्यविधि–२०६५ मा संशोधन गर्न खोजेको केही प्रावधानमा थापाले विमति प्रकट गरेका हुन् ।
मन्त्रालयले उक्त कार्यविधिमा भिजिट भिसामा घुम्न जानेले न्यूनतम एसएलसीसरहको शैक्षिक योग्यताको प्रमाणपत्र देखाउनुपर्ने वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था राख्न खोजेको छ ।
सांसद थापले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलमाथि प्रश्न उठाएका हुन् ।
थापाले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? अंग्रेजी नजान्ने नागरिक नै हैन?’
नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि बोकाउन खोजिएको थापाको आरोप छ ।’नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो ?,’ थापाको प्रश्न छ ।
भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार थप्ने गरी गृहकार्य भइरहेको विभागको छ ।
सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै कडा नियम लगाउन लागेको छ ।