सिमरा | कोरोना भाइरस (कोभिड १९) कारण खस्किएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न र आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरु बाराको सिमरा आएका छन्।
आन्तरिक पर्यटक प्रवर्द्धन गर्न गण्डकी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरुले ‘जाउँ है पोखरा’ भन्ने नाराका साथ बाराको पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन तथा छलफल गरेका छन्। छलफलमा कोभिड १९ का कारण धरासायी भएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न आन्तरिक पर्यटन नै मुख्य माध्यम भएको उनीहरुले बताए।
‘हामी सिमरालाई चितवन, पोखरा, वीरगञ्ज, विराटनगरलगायत देशभरका पर्यटकीय शहरहरुसँग अझ नजिकबाट जोड्न चाहन्छौ,’ पश्चिमाञ्चल होटल संघका निर्वमान अध्यक्ष भरतराज पराजुलीले भने, ‘आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्ने र आर्थिक विकास गर्ने उद्देश्यले हामी हिँडेका हौं, आजको छलफलले पोखरा र सिमरा दुवै शहरलाई जोड्ने मौका मिलेको छ।’
व्यवसायीहरुल कोभिड १९ कारण पर्यटन व्यवसाय ठप्प भएपछिे आर्थिक रुपमा धरासायी हुँदै गएको बताए। पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले कोरोना महामारीका कारण विदेशी पर्यटक आउने वातावरण नभएकाले आन्तरिक पर्यटक नै पर्यटन व्यवसायको मुख्य आधार र दिगो भएकाले जाउ है पोखरा भन्ने नाराका साथ बाराबासीलाई पोखरामा घुम्नलाई निम्तो दिइएको बताए।
सिमरा–पोखरा हवाई उडान सुरु गर्न माग
लामो समयदेखि छलफल र चर्चाको विषय मात्रै बनेको सिमरा–पोखरा हवाई उडान तत्काल सुुरु गर्न पोखरा र सिमराका पयर्टन व्यवसायीहरुले माग गरेका छन्। विशेष गरी भारतीय पर्यटकहरुलाई पोखरासँग सहज ढंगले जोड्ने र तेस्रो मुलुकबाट पोखरा घुम्न आएका पर्यकटकहरुलाई पर्सा राष्ट्रिय निकुञ्जसहित प्रदेश २ को धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पहुँच पु¥याउन हवाई उडान सुरु गर्ने भनिए पनि हालसम्म सञ्चालनमा भने आउन सकेको छैन।
‘सिमरा पोखरा हवाई उडान छिटोभन्दा छिटो सञ्चालन गर्न हामीले पर्यटनमन्त्रीसँग पटकपटक भनेका छौ, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, आशा गरौं छिट्टै सञ्चालन आउने छ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत राज पराजुलीले भने, ‘६/८ महिनाभित्र पोखरावाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न हामीले पहल गरिरहेका छौं। यसैबीचमा सिमरा–पोखरा हवाई उडानलाई पनि पहिलो प्राथमिकता राख्ने छौं।’
बारा होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्मा सिमरा–पोखार उडानका लागि स्थानीय तहदेखि मन्त्रालयसम्म पटकपटक छलफल भएर उडान सुरु गर्ने भनिए पनि कोभिड १९ कारण ढिला भएको बताउँछन्। ‘भारतीय नाका खुल्नासाथ पोखराका पर्यटन व्यवसायी र बिमान कम्पनिहरु छलफल गरेर तत्काल उडान सुुरु गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘यो उडानले हिमाल र मधेशको सम्बन्ध सुमधुर बनाउँछ। निकुञ्ज र पोखराको फेवाताल घुम्न आउने पर्यटकलाई जोड्ने काम गर्दछ।’
कोराना महामारीका कारण तेस्रो मुलुकवाट तत्काल पर्यटक आउने वातावरण नभएकाले आन्तरिक र भारतीय पर्यटकमा भर पनुपर्ने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन्। खुला सिमानाको फाइदा उठाएर नेपालले भारतीय पर्यटकहरुलाई नेपाल घुम्ने आउने वातावरण बनाउन सके भारतीय पर्यटकहरुवाट पर्यटन व्यवसायी फाईदा लिनसक्ने शर्माको भनाइ छ।