वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको हो ।
एउटा टेक्सटायल उद्योगमा अनुगमनको क्रममा उनीहरुले ११ हजार रुपैयाँ घुस लिएकाले नियन्त्रणमा लिइएको बताइएको छ ।उद्योग अनुगमनको क्रममा ११ हजार घुस लिएको पुष्टि भएपछि बिहीबार उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमणमुक्त भइसकेपछि अख्तियारको जिम्मा लगाइने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार घुस लिएको उजुरी परेपछि उनीहरुलाई जिल्ला प्रशासन बोलाइएको थियो । ती कर्मचारीहरुले ११ हजार घुस लिएको र गाडीमै बाँडफाँट गरेको स्वीकार गरेका छन् ।