दोलखा। दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग । यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो । तर, देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना बोकेको यो उद्योग पछिल्लो दुई दशकयता बेहाल अवस्थामा छ ।
बेलाबेलामा पुनः सञ्चालनमा ल्याउने चर्चा चले पनि २२ वर्षदेखि यो उद्योग सञ्चालनमा आउन सकेको छैन । यो उद्योगले कुनै समय २ हजारभन्दा बढीलाई रोजगारी दिएको थियो। सरकारी उदासीनताका कारण उद्योग सञ्चालनमा नआएपछि अर्बाैं मूल्य बराबरको म्याग्नेसाइट र खरिढुंगा उपयोगविहीन बनेका छन् । उद्योग सञ्चालनमा नआउँदा हजारौंले रोजगारीको अवसर गुमाएका छन् भने उद्योगको करोडांै मूल्य बराबरको संरचना र सामान कवाडीमा परिणत हुँदै गएका छन् ।
ओरियन्ड म्याग्नेसाइटको विश्व बजारमा उच्च माग हुँदाहुँदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालदेखि उद्योग पूर्ण रूपमा बन्द भएको हो । ०५८ सालमा तत्कालीन माओवादीले ओरियन्ड म्याग्नेसाइट उद्योगमा आगजनी गरेर करोडौंको सामान नष्ट गरेपछि अहिले यो उद्योगको भग्नावशेष मात्र बाँकी छ ।
सरकारी बेवास्ताकै कारण उद्योग सञ्चालनमा आउन नसकेपछि थुप्रै बहुमूल्य मेसिनका पार्टपुर्जा चोरी भइसकेका छन् । २२ वर्षदेखिका कुनै पनि सरकारको पालामा उद्योग सञ्चालनमा ल्याउन विशेष प्रयत्नसमेत नगरेका कारण उद्योगमा केही सुरक्षा गार्डबाहेक १६ जना कर्मचारी राजधानीमै तलब बुझेर बसेका छन् ।
नेपाल सरकारको ७५ प्रतिशत, खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत लगानी रहेको यो उद्योग सुरुदेखि नै अप्ठ्यारोमा परेको थियो । भारतीय कम्पनीको गलत नियत र नेपाल सरकारको बेवास्ताका कारण उद्योग डुबेर भारतीय पक्षले पुनः सञ्चालनमा ल्याउन नदिएपछि उद्योगको अवस्था जीर्ण बन्दै गएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट