बीरगन्ज। बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास हुँदा विवाद सृजना भएको छ । बीरगन्जको घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा, निजी व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको हो । बीरगन्ज महानगरपालिका–८ मा पर्ने घण्टाघर नजिकको शिवा हस्पिटल रोडमा अवस्थित सुर्वण मन्दिरको नाममा १ कठ्ठा ११ धुर जग्गा व्यक्तिको नाममा पास भएको छ । मन्दिरको सार्वजनिक उक्त जग्गामध्ये मुख्य सडकसँग जोडिएको ७ धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिष्ट्रेशन पास गराएकी हुन्।
मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एक्साभेटर लगाएर जग खनेपछि शुक्रबार बिहान वडा अध्यक्षसहितका स्थानीयले त्यहा पुगेर विरोध जनाएका छन्।शुक्रबार बिहान वडाध्यक्ष, हिन्दुवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही समय तनाव भएको थियो। सम्भावित झडपलाई मध्यनजर गर्दै मन्दिरको उक्त जग्गामा शुक्रबार बिहान प्रहरी पनि परिचालन गरिएको थियो।
मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, निजी व्याक्तिको नाममा रजिष्ट्रेशन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी दिएका छन्। मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, भुमाफीयाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ छ।