बारा | स्थानीय सरकारले जिम्मेवारी निर्वाह गर्न नसक्दा आम्दानीसमेत गुमाइरहेका छन् । महेन्द्र राजमार्गमा पर्ने बारास्थित पथलैयाको पुरै नगरको सरकारी नक्सा गायब भएको छ । नक्सा नै नभएपछि स्थानीयले सरकारलाई कुनै पनि प्रकारका कर नतिरी निर्वाध व्यावसायिक कारोबार गर्दै आएका छन् । स्थानीय तहलगायत तीनवटै सरकारको करोडौं राजस्व यसबाट गुमिरहेको छ ।
नक्सा कसरी हरायो भन्नेमा सबै ‘तैं चुप, मै चुप’को अवस्थामा छन् । स्रोतका अनुसार केही राजनीतिक दलका नेता, नापी र मालपोत कार्यालयका कर्मचारीबीच लेनदेनमा विवाद हुँदा पथलैयाको नक्सा वेपत्ता पारिएको हो । नापी नक्सा नभए पनि लालपुर्जाकै आधारमा स्थानीय बासिन्दाको रोहवरमा करोडौं मूल्यमा पथलैयाको जग्गा किनबेच भएको छ भने नक्सा नभएकै कारण मालपोत र नापी कार्यालयले पनि यसबाट राजस्व गुमाउनु परेको छ ।
सुकुम्बासी समस्या सामधान आयोगबाट २०६७ सालमा पथलैयाबासीलाई लालपुर्जा वितरण गर्दा नै नापी, मालपोत र केही अगुवा नेताले प्रतिधुर २० हजार प्रत्येक घरधनीले राजस्ववाहेक छुट्टै दिनुपर्ने प्रस्ताव गरेका थिए । तर, स्थानीयले दिननसक्ने अडान राखेपछि नक्सा बेपत्ता पारिएको स्थानीयवासीको आरोप छ । लालपुर्जासँगै स्थानीयले राज्यकोषमा करिबब २२ लाख रुपैयाँ जम्मा गरेका थिए । यसरी पथलैया नगरको नक्सा बेपत्ता पारिए पनि हालसम्म कुनै पनि सरकारी निकायले चासो राखेका छैनन् भने स्थानीय सरकार बेखबरजस्तै बनेको छ ।
निर्वाचित भएको ६ महिनाभित्र पथलैयाको लालपुर्जा चलनचल्तीमा ल्याउने उद्घोष गरेका जितपुर सिमरा उपमहानगरका प्रमुख कृष्ण पौडेल आफ्नै प्रतिवद्धताबाट पछि हटेका छन् । हालउनी कार्यालयमै उपस्थित हुन छाडेको भन्दै पथलैयावासी गुनासो सुन्ने कोही नभएको बताउँछन् ।
स्थानीय मदन कंसाकारले जग्गाधनी प्रमाणपुर्जाको सबै कागजात आफूहरुसँग भए पनि नक्सा नहुँदा समस्या परेको बताउँछन् । पथलैया स्थापना हुँदै गर्दाको अवस्थामा रहेको उनको भनाइ छ । मालपोत तथा नापी कार्यालयका जिम्मेवार अधिकृतहरुले आफूहरुले सरुवा भइ आउँदादेखि नै पथलैयाको नक्सा नदेखेको र स्थानीय तहको पहल र समन्वयमा सरकारी ऐन नियमबमोजिम नक्सा बनाउन आफ्नो कार्यालय तयार रहेको बताए । पचासको दशकमै ऐलानी हुँदै गरेको अवस्थामा व्यावसायिक संरचना बन्न सुरु भएको पथलैया होटल तथा लजका लागि राजमार्गमा परिचित नगरीको नामले चिनिन्छ ।
करीब ८ सय घर रहेको पथलैयाका ८० प्रतिशत वासिन्दा व्यवसायमा निर्भर छन् भने यहाँ होटल, ट्रान्सपोर्ट, यातायात व्यवसायीको कारोबार बढी हुने गर्दछ । वडाअध्यक्ष हिराबहादुर गुरुङले आफूले प्रत्येक बैठकमा नक्साको कुरा उठाए पनि मेयर र अन्य पदाधिकारीबाट कुनै जवाफ पाउन नसकेको बताए ।