वीरगंज । एनसेलको अभिभावक कम्पनी आजियटा ग्रुपले आफ्ना सबै कम्पनीहरुले तेस्रो त्रैमासमा औषत कमाई गरेको बताएको छ । तर कम्पनीले चौथो अर्थात् अन्तिम त्रैमासमा कमाई खुम्चिँने आँकलन गरेको छ ।
केही मुलुकहरुले फेरि लकडाउन लागू गर्न थालेका कारण उद्योग र सेवाग्राही प्रभावित भएकाे आजियटाले जनाएकाे छ । परिणामस्वरूप याे अवधिमा आम्दानी घट्ने प्रक्षेपण आजियटाका अध्यक्ष तथा सीईओ जमालुद्दिन इब्राहिमले गरेका छन् ।
कम्पनीले आफ्नो पछिल्लो ९ महिनामा ८९ करोड ५० लाख मलेसियाली रिङ्गेट बराबरकाे खर्च कटौती गरेर ३६ करोड ६६ लाख रिङ्गेट बचत गरेको बताएको छ ।
बितेको ९ महिनाको रेकर्ड हेर्दा नेपालमा यो अवधिमा एनसेलको आम्दानी २६ प्रतिशतले घटेर १० अर्ब चार करोड रूपैयाँ पुगेकाे छ । कुल नाफा पनि करिब सात गुणाले घटेर ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
यस्तै ब्लेन्डेड एआरपीयू पनि २०.८ प्रतिशतले घटेर २१३ रुपैयाँ पुगेको छ । ग्राहक संख्या १४ लाखले घटेर एक करोड ५३ लाख पुगेको छ ।
आजियटा ग्रुप अन्तर्गत इन्डोनेसियाको एक्सएल आजियटा, मलेसियाको सेलकम, श्रीलंकाको युनिट डायलग, बङ्गलादेशको रोबी टेलिकम लगायत सञ्चालनमा छन् ।