वीरगंज । चीनले कोभिड १९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ ।चालु आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनाको अवधिमा नेपालको चीनसँगको व्यापार एक वर्षको अवधिलाई आधारमान्दा ठूलो गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापारको तुलनामा २५ प्रतिशत अर्थात् ५०८ मिलियन अमेरिकी डलरले गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६८० मिलियन अमेरिकी डलरको व्यापार भएको थियो ।
चीन-भारतपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।‘चीनको आयात कम हुन भनेको समग्र आयातमा परेको मन्दीको एक हिस्सा हो’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले मंगलबार सिन्ह्वालाई भने ।
चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा नेपालको समग्र आयात १० दशमलव ६२ प्रतिशतले घटेर ३ दशमलव ३८ बिलियन अमेरिकी डलर पुगेको थियो । कोरोना महामारीले वैश्विक आपूर्ति श्रृंखलामा पुर्याएको अवरोधका कारण उक्त व्यापार घाटा बढेको बताइएको छ ।
दाहालले भने, ‘चीनसँगको व्यापारमा असर पारेको अर्को कारण स्थलमार्गबाट हुने चिनियाँ आयात ठप्पप्राय हुनु हो । तर भारतबाट हुने आयात भने स्थलमार्गबाटै निरन्तर भइरहेको छ ।’
रासुवागढी-केरुङ र तातोपानी नाका कोरोना महामारी भन्दै चीनले महिनौंसम्म नाकाबन्दी गरेपछि चिनियाँ आयात ठप्प भएको थियो । नेपालबाट चीनका मुख्य आयात हुने वस्तुहरू भनेको मोबाइल फोन, मेशिनरी, विद्युतीय वस्तुहरू, तयारी पोशाक र रासायनिक मल हुन् ।