वीरगंज । नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार रकमले बिहीवार रेकर्ड ब्रेक गरेको छ । यो दिन कम्पनीको हालसम्मकै उच्च रकमको शेयर कारोबार भएको हो । उक्त कम्पनीको बिहीवार रू. १ अर्ब ११ करोड ४० लाख ८ हजार बराबरको ६ लाख ३५ हजार ८४५ कित्ता शेयर खरीदविक्री भएको छ । बिहीवार रू. ८ अर्ब २ करोड ६० लाख २३ हजार बराबरको शेयर कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीले १३ दशमलव ८८ प्रतिशत हिस्सा ओगटेको हो । यस अघि मंसिर १६ गते कम्पनीको उच्च रकमको शेयर कारोबार भएको थियो ।
त्यस दिन रू. ६५ करोड ७९ लाख ८८ हजार बराबरको ४ लाख ३० हजार ७३५ कित्ता शेयर कारोबार भएको हो ।बिहीवार कारोबार रकममा रेकर्ड ब्रेक भएको कम्पनीको नाफा बुक गर्नेहरु हाबी हुदाँ शेयरमूल्य भने घटेको छ । बिहीवार प्रतिकित्ता रू. २३ ले मूल्य घटेर अन्तिम मूल्य रू. १ हजार ७३५ कायम भएको छ ।
यस दिन अधिकतम रू. १ हजार ८३६ देखि न्यूनतम १ हजार ६८६ सम्म कम्पनीको शेयर खरिद विक्री भएको छ । पछिल्लो समय कम्पनीको शेयरमूल्य निरन्तर बढेको थियो । यो सातामात्र कम्पनीको शेयरमूल्य रू. ३९६ ले बढेको छ । गत साताको अन्तिम दिन बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. १३३९ रहेको थियो ।
जेठ २८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको उक्त कम्पनीले चैत ४ देखि ७ गतेसम्म आईपीओ विक्री गरी चैत २६ गते बाँडफाँट गरेको थियो । आइपीओपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब पुगेको छ ।
पूँजीबृद्धिको अभियानमा कम्पनीले आर्थिक वर्ष २०७७/ ८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्याउने प्रक्षेपण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आकर्षक लाभांश सहित हकप्रद निष्काशन गर्ने हल्लाको कारण शेयर खरीद चाप बढी हुदाँ शेयर मूल्य बढेको देखिन्छ । यद्यपि यस विषयमा कम्पनीको आधिकारिक सूचना भने सार्वजनिक भएको छैन ।
आईपीओ विक्री गर्दा आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर विक्री गर्ने योजना बनाएको थियो । उक्त वर्ष लाभांश वितरण गर्न बीमा समितिले रोक लगाएपछि पछिल्लो आर्थिक वर्षबाट आकर्षक लाभांश दिने आशा लगानीकर्तामा रहेको छ । साथै पुनर्बीमा क्षेत्रको एउटा मात्र कम्पनी भएकाले आम लगानीकर्ताको लगानीको सुरक्षा गर्नेछ भन्ने विश्वास कम्पनीप्रति लगानीकर्ताहरुको रहेको देखिन्छ ।