वीरगंज | बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्यार्थीहरु स्कूल जाँदै थिए। नौ महिनापछि स्कूल खुलेकाले होला, आइतबार स्कूल जाँदा विद्यार्थी खुसी देखिन्थे।साथीसंगीसँग गफ गर्दै नयाँ किताब र नयाँ कक्षा कोठामा प्रवेश गर्दै गरेका विद्यार्थीको मुखमा मास्क थिएन।कोरोना कहरले गर्दा नौ महिनादेखि स्कूल बन्द थियो। सरकारले विद्यालय सञ्चालन कार्यढाँचा जारी गरेपछि त्यसलाई पालना गर्ने गरी गरेर स्कूल सञ्चालनमा आएका छन्। विद्यार्थीले स्कूल जाँदा मास्क लगाउनु पर्ने बुँदाको भने पालना भएको देखिएन। उनीहरुलाई हेर्दा लाग्थ्यो– कोरोना केही होइन।
राप्तीसोनारी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेले कार्यढाँचा अनुसार गाउँपालिकाको शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर स्कूल सञ्चालनमा ल्याएको दावी गरे।उनका अनुसार, त्यो मापदण्डमा मास्क लगाउने, स्कूलमा सेनिटाइजर प्रयोग गर्ने, थर्मलगन राख्ने, विद्यार्थीलाई दूरी कायम गरेर राख्ने लगायतका छन्। आइतबार पहिलो दिन उक्त मापदण्ड पालना भएको देखिएन।
स्कूल गइरहेका विद्यार्थीलाई मास्क खोइ? भनेर सोध्दा जवाफ दिन सकेनन्। केहीले ‘स्कूलले दियो भने लगाउँछौँ’, भने।लामो समयपछि विद्यालय जान पाएकाले विद्यार्थी भने खुसी देखिन्थे। नेरामावि, चिलरिया बिनौनामा कक्षा १० मा पढ्ने करिश्मा थारुले लामो समयपछि स्कूल जान पाउँदा खुसी लागेको बताइन्।
करिश्माको जस्तै खुसी बैजापुरको जनशक्ति माविमा कक्षा १० मा पढ्ने लक्ष्मी थारुको पनि थियो। कोरोना कहर सुरु हुँदा लक्ष्मी र करिश्मा नौ कक्षामा पढ्थे। अहिले दश कक्षाको किताब बोकेर पहिलो दिन स्कूल गइरहेका छन्।राप्तीसोनारी गाउँपालिकामा ५४ वटा सरकारी र १६ वटा संस्थागत विद्यालय रहेका छन्। सबै विद्यालय आइतबारदेखि खुलेको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिए।बाँकेमा अरु पालिकाहरुले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन्।