वीरगन्ज ।एक वर्ष लामो संवादहीनता तोड्दै नेपाल र भारतबीच औपचारिक रुपमा संवादको सुरुवात भएको छ। २०१९ नोभेम्बर २ मा भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भू-भागमा पार्यो। त्यसपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएर भूमिबारे भारतीय दाबी गलत रहेको भन्दै नक्सा सच्याउन माग गर्यो। तर, भारतले उक्त भूमि आफ्नै रहेको दाबी गरिरह्यो। यसबीच नेपालले भारतलाई पटक-पटक सीमा विवादका लागि वार्ताको टेबलमा निम्तो दियो। तर, भारत तयार रहेन।
कोभिड-१९ को संक्रमणसमेत फैलिँदै गयो। नेपाल र भारत दुबै देशमा लकडाउन सुरु भयो। सीमा बन्द थिए। त्यहीबीच भारतले एकपक्षीय रुपमा नेपाली भूमि हुँदै मानसरोबर जाने सडक उद्घाटन गर्यो।
भारतले नयाँ नक्सा जारी गरेपछि कूटनीतिक नोट पठाएर विरोध गरेको नेपालले पुन: भारतको कदमको विरोध जनायो। परराष्ट्रले नोट जारी गर्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्ट्रममै उभिएर भारतको विरोध गरे। नेपालले पटक-पटक वार्ताको टेबलमा आउन आग्रह गर्दा भारत भने कोभिड-१९ को संक्रमणलाई बाहना बनाउँदै टारिरह्यो। त्यसपछि नेपालले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गर्यो। सर्वसम्मतले संविधान संशोधन गर्दै नक्सालाई अंगीकार गर्यो।
भारतले नेपालको सो कदमलाई आफ्नो सार्वभौमिकता र अखण्डतामाथि आक्रमणको संज्ञा दिँदै आएको छ। २०१९ को नोभेम्बरबाट नेपाल भारतबीच बढेको दूरी एक वर्षपछि घट्दै गएको छ। अक्टोबर अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको दूतको रुपमा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आइपुगे। प्रधानमन्त्रीसमेतलाई भेट गरेर गएका उनको भ्रमणले संवादलाई अगाडि बढाएको छ।
प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई भेट गरेपछि उनको चर्को आलोचना भएको थियो। प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयले भेटबार] सार्वजनिक रुपमा ‘नोट’ नदिए पनि उनले निकटका नेताहरुलाई मोदीले दूत पठाउँछु भनेको तर कसलाई पठाउने भनेर जानकारी नदिएको र आउने बेलामा रअ प्रमुख आएको भन्दै आएका छन्। प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले पनि अनौपचारिक रुपमा सञ्चारकर्मीलाई यही ब्रिफ गर्ने गरेका छन्।
उनले अरु नेतालाई भेटेको भन्ने समाचार आएपछि सबैले त्यसको खण्डन गरेका छन्। सो भेटमा के विषयमा छलफल भयो भन्ने सरकारले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन्। यद्यपि ओलीले पनि सीमा विवादका क्रममा नक्सालाई लिएर दुवै देशबीच गलत बुझाइ भएको भन्दै वार्तामा बसेर समस्या हल गर्न सुझाव दिएका भारतीय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन्।
त्यही बेलादेखि भारतीय सञ्चारमाध्यमले सीमा विवादको विषयमा दूई देशबीच वार्ता हुने र त्यसका लागि विदेशसचिव हर्षवर्द्धन श्रृङगला नेपाल जाने भन्दै समाचार दिन थालेका थिए। भारतीय मिडियाले भने गोयलको काठमाडौं यात्रासँगै नेपाली पक्ष सीमा विवादलाई लिएर लचक बनेको दाबी गरे।
यसबीच शिक्षा मन्त्रालयले प्रकाशित गरेको नेपालको नयाँ नक्सा र क्षेत्रफलसहितको किताब प्रकाशन र वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाए। यसलाई भारतीय पक्ष आफ्नो जितका रुपमा व्याख्या गर्यो। नेपाली पक्षले हालसम्म किताब प्रकाशन र वितरणलाई रोक्नुपर्ने यथोचित जवाफ दिन सकेको छैन। ओलीको उक्त ‘स्टेप’बाट भारत पनि वार्ताका लागि सहज बनेको भारतीय मिडियाको विश्लेषण छ।
नेपालको ‘एग्रेसिभ’ पोजिसनलाई लिएर दिल्लीमाथि दबाब बढ्दै गइरहेको अवस्थामा नरेन्द्र मोदी सरकारले महिनौँदेखि रोकिएको ‘परम्परा’लाई निरन्तरता दिन भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई काठमाडौं पठायो।
नरवणे तिनै सेनाध्यक्ष हुन् जसले नेपालले चीनको उक्साहटमा आएर लिम्पियाधुरा, कालापानी क्षेत्र आफ्नो दाबी गरेको अभिव्यक्ति दिएका थिए। नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणले पहिलो दिन नै सांस्कृतिक कूटनीति देखाए। पशुपति र हुनमानढोका दर्शन पुगेर। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिन्। नरवणे नेपाल रहँदा उनले नेपाली समकक्षी पूर्णचन्द थापासँग छलफल गरे। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे। तर कूटनीतिक रुपमा दुई देशबीच संवाद ठप्प नै रह्यो।
ऐजेन्डाविहीन शिष्टाचार भ्रमण
यही संवादको श्रृङ्खलालाई जोड्दै परराष्ट्र सचिव भरतराज पौड्यालले समकक्षी श्रृङ्गलालाई नेपाल निम्तो पठाए। भारतमा नयाँ विदेश सचिव नियुक्त हुनासाथ छिमेकी देश भ्रमण गर्ने प्रचलन छ। सोही अनुरुप श्रृङ्गलाले अन्य देशको भ्रमण गरे पनि नेपालको भ्रमण गरेका थिएनन्। जनवरीमा भारतको विदेश सचिवमा नियुक्त भएका उनको यो पहिलो नेपाल भ्रमण हो। त्यस मानेमा पनि यो उनको नेपालको शिष्टाचार भ्रमण हो। बाहिर आए जस्तो कुनै ऐजेन्डासहितको भ्रमण थिएन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल पनि यसलाई पुष्टि गर्छिन्। ‘यो शिष्टाचार भ्रमण हो। दुई देशबीचको सम्बन्धको उच्चस्तरीय भ्रमणको परम्परा हो। भ्रमणका बेला दुई देशबीचको सम्बन्ध तथा विविध आयामहरुको बारेमा छलफल हुन्छन्।’ उनले भनिन्, ‘कुनै एउटा एजेन्डा लिएर छलफलका लागि भएको भ्रमण होइन्। दुई देशबीचको साझेदारीका विविध आयामहरुका बारेमा छलफल भए।’
यसबीच नेपालको परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले संक्षिप्त रुपमा छलफलबारे जानकारी गराएका छन्। परराष्ट्र मन्त्रालयले दुई देशबीचको साझेदारीका विविध पक्षहरुमा छलफल भएको जानकारी गराएको छ।
त्यस्तै भारतीय दूतावासले पनि छलफल उपलब्धिमूलक रहेको र द्विपक्षीय सहयोगको समीक्षा भएको जनाएको छ। आपसी हितका मुद्दाहरूमा छलफल भएको दूतावासले जनाएको छ। ‘दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गर्नुभयो। आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो,’ भारतीय दूतावासले भनेको छ। तर, विविध पक्षहरुमा कुरा उठे पनि सीमा विवादले भने महत्त्व पाएन।
द्विपक्षीय छलफलपछि भारतीय विदेश सचिव श्रृङ्गलाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका छन्-‘छलफलको राम्रो सुरुवात भएको छ। दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ। वार्ता एकदमै उपलब्धिमूलक भएको छ। वार्ताका एजेण्डाहरु एकदमै बृहत् छन्। आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ।’ उनले सीमा विवादको विषयमा भने उल्लेख गरेका छैनन्। उनले आर्थिक, सांस्कृतिक साझेदारी तथा पूर्वाधार निर्माणका क्षेत्रमा साझेदारीका विषयमा छलफल भएको बताए। यस पटक साझेदारीका विविध क्षेत्रहरुलाई छलफलमा समेट्ने प्रयास भएको उनले बताए।