वीरगंज | संसारमा अहिले कोरोनाभाइरसको महामारी फैलिँदै गएको छ । प्रत्येक १०० वर्षमा संसारभरि कुनै न कुनै महामारी फैलिएर मानिसहरूले ज्यान गुमाउने गरेका छन् ।मानिसहरूले नयाँ नयाँ महामारीको औषधि खोज्नु परिरहेको हुन्छ । सन् १७२० मा फ्रान्सको मार्से शहरमा फैलिएको ब्युबोनिक प्लेगले लगभग एक लाखजनाको ज्यान लिएको थियो । प्लेग फैलिएको केही महिनामै ५० हजारजना मारिएका थिए । बाँकी ५० हजार अर्को दुई वर्षमा मारिए ।
त्यसको ठीक सय वर्षपछि सन् १८२० मा हैजा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्समा फैलिएको थियो । इन्डोनेसियाको जाभामा मात्र हैजाका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
अनि सन् १९२० मा आएको स्पेनिस फ्लुले संसारभरि ५० करोड मानिसलाई संक्रमित बनाएको थियो । त्यसले संसारभरि १० करोड मानिसलाई मारेको बताइन्छ । मानव इतिहासमा सबभन्दा खतरनाक महामारी त्यही मानिन्छ ।
अहिले २०२० मा चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरसले अहिलेसम्म विश्वमा ८ लाख ३५ हजारको मृत्यु भइसकेको छ । विश्वमा २ करोड ४६ लाख जनामा संक्रमण देखिएकोमा १ करोड ७१ लाख निको भइसकेका छन् ।कोभिड–१९ को बारेमा अझै अध्ययन चलिरहेको छ । केही वैज्ञानिकहरूले सन् २०२० भरि संक्रमण देखिइरहने बताएका छन् ।