वीरगंज | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण व्यापक भएपछि सात महिनादेखि रोकिएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। सरकारले सार्वजनिक गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर हुने परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर ४ हजार १०५ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा हुँदैछ । गएको वैशाख ८ गतेदेखि हुने भनिएको परीक्षा कोरोना संक्रमणका कारण रोकिएको थियो ।
सरकारले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेकाले ढुक्क भएर परीक्षा लेख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई आग्रह गरेका छन् । यसअघि नै राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकता राखेर परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ। सरकारले कोरोना पोजेटिभ रिपोर्ट आएका विद्यार्थीका लागि भने पुनः परीक्षा सञ्चालन गर्ने बताएको छ । संक्रमण पुष्टि भएर पनि परीक्षामा सहभागी हुनसक्ने विद्यार्थीले भने परीक्षा लेख्न सक्नेछन् । उनीहरुा लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।
कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिनेछ । यस पटक विशेष परिस्थिति भएकाले सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ । यसअघि नै ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिने निर्णय भएको बोर्डले बताएको छ ।