वीरगंज | जाडो शुरु भइसकेको छ । यसपटक अघिल्ला वर्षजस्तै चिसोबाट जोगिएर मात्रै हुँदैन ।
कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट पनि जोगिएर जाडो कटाउनुपर्ने अवस्था छ । यसैपनि जाडो मौसममा केही रोगले निकै सताउँछन् । मानिसहरु एउटै सिजनमा २ /३ पटक समेत बिरामी हुन्छन् । रुघाखोकी, ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, पिनास , उच्च रक्तचाप, जोर्नीको दुखाइ, महिनावारी हुँदा अझ बढी पेट दुख्नु, हातखुट्टाका औँला सुन्निनु, पाक्नु, निलडाम देखिनु, टाउको दुख्नु, आलस्य हुनु जस्ता समस्या र रोगहरु जाडोयाममा अधिकांशमा देखिने र दोहोरीरहन्छन्।
खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, आत्मबल कजोर भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ ।
निमोनिया : जाडो मौसममा सबैभन्दा सताउने रोग हो, निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । त्यसैले निमोनिया भइसकेका व्यक्ति अझ बढी सचेत रहनुपर्छ । अरुले हुन नदिन सावधानी अपनाउनुपर्छ ।
ज्वरो, रुघाखोकी : जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । धेरैलाई १५ /२० दिनकोअन्तरमा फेरि दोहोरीरहने पनि हुन्छ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । तर रुघाखोकीले सतायो भन्दैमा कोरोना भयो भन्ने भ्रम पालेर आत्मबल कमजोर बनाउनुहुँदैन । राईनो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, उसले प्रयोग गरेका सामान राम्ररी सफा नगरी प्रयोग गर्दा, मुखबाट निस्किने पानीका कणहरू थोपाहरु मार्फत् हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । एउटै रक्तसमुहमा यो सर्ने संभावना अझ बढीहुन्छ । अझ जाडोयाममा यसका भाइरस बढी सक्रिय हुन्छन् । खासगरी रुघाखोकीले बच्चा, बुढाबुढी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, औषधी सेवन गरिरहेकालाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ । त्यसैले ‘रुघाखोकी त हाच्छ्यु गरेर बिसेक भइहाल्न नि !’ भनेर सामान्य ठान्नुहुँदैन । मनतातो पानी पिउने, बेलाबेलामा बाफ लिने, चिसोबाट जोगिने, चिसोमा धेरैबेर ननुहाउने, बाईक वा स्कुटर वा साईकलमा हिँडडुल गर्दा बाक्लो न्यानो र हावा छेक्ने कपडा प्रयोग गर्ने गर्नुपर्छ ।
टन्सिल : टन्सिल हुने मानिसको पीडा निकै कष्टकर हुन्छ । थुक समेत निल्न समस्या हुँदा श्वास प्रश्वासका लागि मुख आँ गर्नुपर्ने सम्म हुन्छ । जाडोमा निम्तिने अनेकन समस्यामध्ये यो पनि एक हो । चिसोका कारण हुने टन्सिलबाट बच्न पहिलो कुरा त चिसोबाट जोगिने तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ । भण्टा, राम्ररी नपाकेको केरा, चिल्लो, अमिलो पिरो, धेरै तातो वा अत्याधिक चिसो खानेकुरा बार्ने गर्नुपर्छ । साँझमा मनतातो पानीले कुल्ला गर्नुपर्छ ।
एलर्जी : जाडो मौसममा धेरैको छाला सुक्खा हुने, चिलाउने, फोका आउने, डाबर देखापर्ने, छाला फुस्रो हुने जस्ता समस्या हुन्छ । गर्मियाममा जस्तो पानी प्रशस्त नपिउने आदतका कारण छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्ने, अनुहार फुङ्ग उठेजस्तो देखिने जस्ता समस्या समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् । छालाको एलर्जीले जटिल समस्यानिम्त्याउन सक्छ । त्यसैले चिसोबाट बचेर मनतातो पानी शरीरलाइ्र्र आवशयकता पर्नेजति पिउनुपर्छ ।
बाथ, जोर्नी दुख्ने : जाडो मौसममा अर्को भयानक समस्या हुन्छ – जोर्नी दुख्ने समस्या र बाथ रोग । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन् । केहिलाई हड्डी खिएका कारण र चिसोले समात्दा झनै समस्या आउँछ । यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सुपहरु खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।
पिनास : पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । चिकित्सकका अनुसार नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । त्यसैले एक्लै बस्दा मास्कको प्रयोग नगर्ने, चिकित्सकको सल्लाहबमोजिम विभिन्न खानपान बार्नुपर्ने हुन्छ ।
दम, मुटुरोग : जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चिन्छन् । एक त चिसो मौसमको बेला श्वासनली साँघुरो भई सास फेर्न गाह्रो हुन्छ । अर्कोतर्फ जाडो मौसममा दमका बिरामी धेरै देखिन्छन् । जसलाई दम छ उसलाई यसैपनि चिसो मौसम हानिकारक नै हुन्छ । चिसोले खासगरी बुढाबुढीलाई सताउँछ । त्यसमा पनि दम खासगरी बुढाबुढीलाई हुन्छ । हामीले सुतिरहेकै अवस्थामा पनि मानिस मरेको देखेका छौँ । आकस्मिक निधनका घटना पनि चिसो मौसममै बढी देखा पर्छ । त्यसैले बिरामी मानिसको छेउछाउमा वा नजिकै कोही सदस्य सुत्नुपर्छ र बेलाबेलामा उसको बारेमा जानकारी लिनुपर्छ ।
(एजेन्सीको सहयोगमा0