वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले महासंघको विधान विपरीत कुनै पनि निर्णय नगरेको जनाएको छ । महासंघको आसन्न ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमका दौरान विधानविपरीत उमेदवार तथा सदस्य संस्था थप गरिएको आरोप निर्वाचन समितिलाई लगाइएको थियो ।
निर्वाचन समिति सदस्य तथा प्रवक्ता लिलामणि पौडेले निर्वाचन समितिले महासंघको विधान विपरीत हुने गरी कुनै पनि निर्णय नगरेको बताए । “हामीले जे निर्णय गरेका छौं, ती निर्णय विधानसम्मत् छन् । विधान विपरीत कुनै पनि निर्णय भएका छैनन्,” उनले भने ।
महासंघ निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पूर्वअध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई वाग्मती प्रदेशका तर्फबाट कार्यकारिणी सदस्यमा उमेदवार स्वीकृत गरेको र औषधि उत्पादक संघबाट दुईजनाले दिएको उमेदवारी स्वीकृत गरेको भन्दै एक पक्षले विरोध जनाएको छ ।
महासंघ प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले विधान विपरीत रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट वाग्मती प्रदेशको केन्द्रीय सदस्यमा राजकुमार न्यौपानेको उमेदवारीलाई स्वीकृत गरेको आरोप लगाइएको छ । महासंघको विधानमा जुन जिल्लाको पदाधिकारी भईसकेको हो, सोही जिल्लाबाट मात्रै प्रतिनिधि हुनुपर्ने भन्दै व्यवस्था विधानमा नरहेको समितिको भनाई छ ।
“निर्वाचन समिति र मलाई लगाइएका आरोपमा सत्यता छैन । हामीले महासंघको विधान अनुरुप नै सबै निर्णय गरेका छौं” न्यौपानेले बताए । उनले वाग्मती प्रदेशको केन्द्रीय सदस्यमा उमेद्वारी दिएका राजकुमार न्यौपानेसँग आफ्नो कुनै नाता वा सम्बन्ध नभएको पनि स्पष्ट पारे । न्यौपानेसँगको सम्बन्धकै कारण प्रमुख निर्वाचन अधिकृतले उमेद्वारी स्वीकृत गरेको आरोप लगाइएको थियो ।