वीरगंज। कोरोना प्रभाव यथावत् रहे पनि केही सहज भएको जनजीवन, दसैं तिहारलगायत चाडपर्वले विदेशी वस्तु खपत बढाएको छ । भन्सार विभागको तथ्यांकमा देखिएको आयातको खुम्च्याइ दर घट्नुले पछिल्लो दुई महिना आयात पुरानै दरमा फर्किएको संकेत गर्दछ । भदौ मसान्तसम्मको तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधीभन्दा २२ प्रतिशतले घटेको आयात कात्तिक मसान्तसम्मको तथ्यांकले अघिल्लो वर्षको भन्दा १० प्रतिशतले घटेको देखाउँछ ।
असोज मसान्तमा आयात वृद्धिदर १२ प्रतिशतले ऋणात्मक थियो । भन्सार विभागको प्रारम्भिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकि अघिल्लो आवको पहिलो ४ महिनामा ४ खर्ब ५० अर्ब २९ करोड वस्तु नेपाल पैठारी भएको भन्सारको तथ्यांक छ ।
चार महिनाको आयात अघिल्लो आवको सोही अवधीको भन्दा १०.६२ प्रतिशतले कम हो । कात्तिक महिनामा मात्र १ खर्ब १० अर्ब २१ करोडको वस्तु आयात भएको देखिन्छ । यो महिनाको आयात २०७६ कात्तिकको भन्दा ४.४५ प्रतिशतले कम हो । असोजमा अघिल्लो वर्षको भन्दा ९ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको थियो । जसले स्वदेशी माग बढेको देखाउँछ । स्थानीय उद्योग बन्द हुनुका साथै खुला केही उद्योगको उत्पादन क्षमता घट्दा चाडपर्वमा स्वदेशी माग विदेशी वस्तुमा निर्भर भएको हो ।
समीक्षा अवधिमा निर्यात १०.८१ प्रतिशतले बढेको छ भने भन्सार राजस्व भने ०.५८ प्रतिशतले घटेको विभागको तथ्यांक छ । गत वर्षको कात्तिकसम्म ३६ अर्ब २७ करोडको वस्तु निर्यात भएकामा यस वर्षको कात्तिकसम्म बढेर ४० अर्ब २० करोड पुगेको छ । विभागको तथ्यांकअनुसार आयात कम हुँदा भन्सार राजस्व घटेको हो । अघिल्लो वर्ष १ खर्ब २२ अर्ब ९७ करोड भन्सार राजस्व संकलन भएकोमा यस वर्षको पहिलो ४ महिना १ खर्ब २२ अर्ब २५ करोड मात्रै संकलन भएको छ ।
आयातमा कमी तथा निर्यातमा सामान्य वृद्धि आउँदा व्यापार घाटा सामाय घटेको छ । समीक्षा अवधिमा गत वर्ष ४ खर्ब १४ अर्बको व्यापार घाटा हुँदा चालु वर्षको कात्तिकसम्म ३ खर्ब ६२ अर्बमा झरेको छ ।