भारतीय जनता पार्टी बिहारमा जनता दल युनाइटेडभन्दा ठूलो दल बने पनि मुख्यमन्त्री नीतीश कुमारलाई नै बनाएको छ । तर उत्तर प्रदेशको झैं गरी बिहारमा उसले आफ्नो पार्टीका तर्फबाट दुईवटा उपमुख्यमन्त्री बनाउन सफल भएको छ । नीतीशबाहेक १४ मन्त्रीले सोमवार पदको शपथ लिएका छन् । भाजपाका तर्फबाट सातजना मन्त्री बनेका छन् । मन्त्रिमण्डलमार्फत भाजपाले बिहारमा आफ्नो राजनीतिक भविष्य बलियो बनाउन र सन् २०२५ मा हुने विधानसभा निर्वाचनलाई एक्लैले जित्नका लागि कोशिश गर्न खोजेको देखिन्छ ।
यस्तो अवस्थामा क्षेत्रीय र सामाजिक समीकरण मिलाउनका लागि पुराना र धरातलीय यथार्थसँग जानकार नेताहरूलाई क्याबिनेटमा महत्त्व दिइएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, भाजपा लामो समयदेखि बिहारमा आफ्नै दममा पार्टीलाई उठाउन चाहन्छ । नीतीश कुमारको छत्रछायाबाट निस्केर उनका निकट रहेका सुशील मोदीलाई उपमुख्यमन्त्री पद भाजपाले दिएको छैन, बरू स्थानीय नेताहरूलाई महत्त्व दिएको छ । त्यसरी स्थानीय नेताहरूलाई अघि सार्दा पार्टीले आफ्नो दममा पहिलो दल बन्नका लागि रणनीति बनाउने देखिन्छ ।
भाजपाले उपमुख्यमन्त्रीको एउटा कुर्सीमा वैश्य समुदायका तारकिशोर प्रसाद र दोस्रोमा अति पिछडिएको समुदायबाट रेणु देवीलाई दिएको छ ।
नीतीश कुमारले बिहारको राजनीतिमा अन्तिम दाउ खेलिरहेका छन् । उनले चुनावी अभियानकै क्रममा अन्तिमपटक मुख्यमन्त्री बन्ने बताएका थिए । यस्तो अवस्थामा नीतीशको भोटबैंक मानिन् अति पिछडिएको र महिलालाई साथ लिने भाजपाको योजना छ । त्यसका लागि भाजपाले आफ्नो कोटाबाट दुईजना पिछडिएका, तीनजना सवर्ण, एक अति पिछडिएको र एक दलितलाई मन्त्रिमण्डलमा स्थान दिइएको छ ।
यसका साथै भाजपाको नजर लोक जनशक्ति पार्टीको मूल भोटबैंक दुसाध समुदायमा पनि छ । त्यसैले रामप्रीत पासवानलाई मन्त्रिमण्डलमा स्थान दिइएको छ । अनि तेजस्वी यादवको कोर भोटबैंक मानिने यादव समुदायलाई पनि मन्त्रिमण्डलमार्फत राजनीतिक सन्देश दिनका लागि रामसूरत रायलाई क्याबिनेटलाई समावेश गरेको छ । बिहारमा १५ वर्षसम्म कनिष्ठ भूमिकामा रहेको भाजपाले भविष्यमा आफ्नै दममा सरकार बनाउन खोज्दैछ । सुशील मोदीको साटो दुई नयाँ अनुहारलाई मौका दिनु भनेको बिहारमा नयाँ नेतृत्वलाई अघि सार्न खोज्नु हो ।
भाजपाले नीतीशलाई मुख्यमन्त्री बनाएको भए पनि पहिलेको जस्तो स्वतन्त्रता पाउने छैनन् । भाजपा नै राज्यमा हावी हुनेछ । बिहारमा भाजपा विधायकहरूको संख्याले भाजपालाई राजनीतिक कद बढाउने मौका दिएको छ । नीतीश सरकारमा भाजपाको दखल हुनेछ र आफ्ना एजेन्डा लागू गर्न ऊ पछि पर्ने छैन । भाजपाका प्रवक्ता तथा राज्यसभा सदस्य सैय्यद जफर इस्लामका अनुसार, भाजपाले नयाँ मानिसहरूलाई मौका दिएको छ । बिहारमा मात्र नभई देशभरि आधार विस्तार गर्न पार्टी लागिपरेको उनले बताए । युवाहरूलाई मौका दिइएको अनि बलियो सरकार बनाएपछि पार्टी पनि बलियो हुने उनले बताए ।