वीरगंज | चीनको वुहानमा देखिएको कोरोना महामारी मंगलबार एक वर्ष पूरा भएको छ। चिनियाँ सरकारको एक रिपोर्टअनुसार वुहानमा सन् २०१९ को नोभेम्बर १७ मा कोरोनाको पहिलो केस पुष्टि भएको थियो। तर विश्व स्वास्थ संगठनले भने डिसेम्बर ३१ लाई मात्र पहिलो कोरोनाको केस भेटिएको मान्दै आएको छ।
वुहानमा फैलिएको कोरोना भाइरसको संक्रमणले अहिले विश्व आक्रान्त छ। अहिलेसम्म विश्वभर ५ करोड ५७ लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमणभइसकेका छन् भने १३ लाख ४० हजारभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। त्यस्तै ३ करोड ५८ लाख ९० हजारभन्दा धेरै संक्रमित निको भएका छन्। जाडोयाम सुरू भएसँगै यसको संक्रमण झन् बढी फैलन सक्ने विज्ञहरूले बताउँदै आएका छन्।
नेपालमा हालसम्म १ हजार २५९ कोरोना संक्रमितको मृत्यु भएको र २ लाख १२ हजारभन्दा बढी व्यक्ति संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै १ लाख ८२ हजार ७८० जना संक्रमित निको भई घर फर्केका छन्।
विश्वभर करिब १ सय ५० भन्दा बढी कोभिड-१९ विरूद्धका भ्याक्सिनहरू निर्माणका क्रममा परीक्षणमा छन्। यिनीहरूसँग मानिसहरूले आशसमेत गरेका छन्। यसलाई सफल बनाउनका लागि धेरै कसरत भइरहेका छन्। अमेरिकाको अपरेसन वार्प स्पिड इनिसियटिभले सन् २०२१ को जनवरीसम्ममा भ्याक्सिन उत्पादन प्रक्रिया सुरु हुने बताएको छ। उसले प्रभावकारी तथा सुरक्षित हुने गरी ३ करोड डोज भ्याक्सिन निर्माण गर्न १० अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ।
धेरैजसो भ्याक्सिनहरूको तेस्रो चरणका परीक्षण सकिएको छ। खोप उत्पादनका लागि १२ भन्दा बढी राष्ट्र लागिपरेका छन्। महामारी चलेको १ वर्ष पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनबाट मानिसमा प्रयोगयोग्य हुने गरी कुनै पनि भ्याक्सिनले अनुमति पाएका छैनन्।
अहिले केही भ्याक्सिनहरू कोभिडको-१९ जिनेटिक म्याटेरिललाई मध्यनजर गर्दै निर्माण भइरहेका छन्, जसले गर्दा हाम्रो शरीरभित्र रहेका कोषिकाहरूले कोरोना भाइरसविरूद्ध लड्नका लागि आवश्यक प्रोटिन उत्पादन गर्छन् जसले गर्दा शरीरको रोगप्रतिरोधात्क प्रणाली बलियो हुन्छ र यसबाट सजिलै छुटकारा पाउन सकिन्छ।
साधारणतया भ्याक्सिन निर्माण भएर बजारमा आउन १० देखि १५ वर्ष लाग्छ। सन् १९६० मा अहिलेसम्मकै सबैभन्दा छिटो समयमा निर्माण भएको मुम्सको भ्याक्सिन बजारमा पुग्नका लागि ४ वर्ष लागेको थियो।
भ्याक्सिन निर्माण गर्ने क्रममा विभिन्न चरणहरू पार गर्दै जानुपर्ने हुन्छ। सुरूमा भ्याक्सिनको परीक्षण गर्दा थोरै मानिसमाथि प्रयोग गरिन्छ।
यदि त्यस्ता परीक्षण सफल भए र सुरक्षित तथा प्रभावकारी सावित भए भने दोस्रो चरणमा परीक्षण गर्नुपर्ने मानिसहरूको संख्या पनि बढाउँदै लागिन्छ, जसमध्ये केही संक्रमित र केही स्वस्थ व्यक्तिमाथि प्रयोग गर्ने गरिन्छ।
तेस्रो चरणमा हजारौं मानिस माथि भ्याक्सिनको परीक्षण गर्ने गरिन्छ। त्यस्तोबेलामा छुट्टाछुट्टै उमेर समूहका मानिसमा समेत परीक्षण गर्ने भएकाले उमेर नै पिच्छे फरक प्रभाव परिरहेको हुन्छ। यस्तो बेलामा परीक्षण गरिएका मानिसहरूको दीर्घरोगदेखि लिएर विभिन्न शारीरिक, मानसिक समस्याले पनि प्रभाव पारिरहेको हुन्छ। त्यसपछि मात्र आधिकारिक निकायमा भ्याक्सिन पठाइन्छ। त्यसैले पनि यो प्रक्रिया एकदमै लामो हुने गर्छ।
भ्याक्सिन निर्माण भइसकेपछि पनि यसको वितरणलाई लिएर केही समस्याहरू निम्तन सक्ने हुन्छ। सुरूमा कस्ता प्रकारका बिरामीका लागि यस्तो भ्याक्सिनको प्रयोग गर्न दिने र कति मूल्यमा वितरण गर्ने भन्ने विषयमा पनि विभिन्न समस्या निम्तन सक्ने विज्ञहरू बताउँछन्। यसपछिको चरणलाई भ्याक्सिनको चौथो चरण पनि भन्ने गरिन्छ, जसमा नियमित रूपमा प्रयोग भइरहेको भ्याक्सिनबाट उत्पन्न हुने साइड इफेक्टलाई मध्यनजर गर्ने गरिन्छ।
निर्माण भएका र निर्माणाधीन केही भ्याक्सिनहरू
दी गामालेया नेसनल सेन्टर अफ इपिटेमोलोजी एन्ड माइक्रोबायोलोजी
नाम : स्पुतनिक भी
कोरोना महामारीले विश्व आक्रान्त बनिरहँदा गत अगस्ट ११ मा रूसले स्पुतनिक भी नामको भ्याक्सिन निर्माण गरेको थियो। यो भ्याक्सिनको प्रभावकारिताबारे रूसले हालसालै आप्नो अभिव्यक्ति सार्वजनिक गरेको छ। कोरोनाविरूद्धको उक्त भ्याक्सिन ‘स्पुतनिक भी’ ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।
कम्पनी : रसियन रिसर्च इन्स्टिट्युसन। अहिले स्टेट-रन रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँगको समन्वयमा भ्याक्सिन निर्माण गरेको हो।
यो भ्याक्सिनले कसरी काम गर्छ?
गमालेयाले पनि एडेनोभाइरसको कमजोर भर्सनको प्रयोगबाट भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरेको छ। यसले पनि शरीरमा स्पाइक प्रोटिन सप्लाई गर्छ। यसले एडेनोभाइरसलाई दुई भागमा विभाजन गरेर प्रयोग गरेको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पहिलोपटक यो भ्याक्सिन प्रयोग गरेको २१ दिनपछि दोस्रो पटक त्यही भ्याक्सिनको प्रयोग गर्नुपर्दछ। कुनै पनि आधिकारिक प्रमाणबिना नै रूसले यो भ्याक्सिन विश्वभर प्रयोग गर्न सकिने दाबी गर्नुका साथै कोभिड-१९ विरूद्धको भ्याक्सिनमध्ये सबैभन्दा पहिला बजारमा पुगेको आधिकारिक भ्याक्सिन भएको दाबीसमेत गरिरहेको छ। तर विश्व स्वास्थ्य संगठनले भने यो कम्पनीको प्रारम्भिक चरणको क्लिनिकल ट्रायललाई आफ्नो लिस्टमा समावेश गराएको छ। विभिन्न अनुसन्धाताहरूले पनि यो भ्याक्सिनले मानव शरीमा बलियो एन्टिबडी र सेलुलर इम्युन रेस्पोन्स दिने बताएका छन्।
फाइजर
नाम : बिएनटी १६२बी२
फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको बिबिसीले उल्लेख गरेको छ। यस्तो अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका छन्। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ।
कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ। यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन्।
भ्याक्सिन पूर्णतः प्रयोगात्मक तरिकाबाट निर्माण गरिएको छ, जसमा भाइरसको आणुवंशिक कोडको हिस्सा समावेश गरिएको छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई दह्रो बनाउन मद्दत गर्छ।
यसभन्दा अघि गरिएका परीक्षणहरूले भ्याक्सिनले शरीरमा एन्टिबडी र टी-सेलको उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरेका थिए। यो भ्याक्सिन तीन हप्ताको फरकमा जम्मा दुई डोज दिनुपर्ने हुन्छ। अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोभिड-१९ विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दाबी छ।
भ्याक्सिन पूर्णतः प्रयोगात्मक तरिकाबाट निर्माण गरिएको छ, जसमा भाइरसको आणुवंशिक कोडको हिस्सा समावेश गरिएको छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई दह्रो बनाउन मद्दत गर्छ।
यसभन्दा अघि गरिएका परीक्षणहरूले भ्याक्सिनले शरीरमा एन्टिबडी र टी-सेलको उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरेका थिए। यो भ्याक्सिन तीन हप्ताको फरकमा जम्मा दुई डोज दिनुपर्ने हुन्छ। अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोभिड-१९ विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दाबी छ।
यो भ्याक्सिनले कसरी काम गर्छ?
जर्मन कम्पनीले क्यान्सर भ्याक्सिनका लागि बनाइएको भ्याक्सिनमा आधारित भएर यो भ्याक्सिन निर्माण गरेका हुन्। फाइजरले अमेरिकी सरकारसँग सन् २०२० को डिसेम्बरसम्ममा १० करोड डोज भ्याक्सिनका लागि करीब २ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ।
मोडेर्ना थेराप्युटिक्स
नाम : एमआरएनए-१२७३
कम्पनी : म्यासाचुसट्समा अवस्थित बायोटेक कम्पनी
-नेसनल इन्स्टिच्युट्स अफ हेल्थको समन्वयमा निर्माण भएको।
त्यस्तै अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ। बायो एन्ड टेक कम्पनीले विकास गरेको फाइजर भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको सार्वजनिक हुनेबित्तिकै यो भ्याक्सिनको प्रभावकारिता सार्वजनिक गरिएको हो।
यो भ्याक्सिनले कसरी काम गर्छ?
एमआरएनएको सन्दर्भमा यो भ्याक्सिनले शरीरभित्र मानव कोषिकामा रहेका भाइरसको जिनेटिक मटेरियल्सको स-साना कणलाई प्रभाव पार्छ। शरीरमा यसले भाइरल प्रोटिनको उत्पादन गर्ने भएकाले कोरोना भाइरसको नक्कल गरेर इम्युन सिस्टमलाई भाइरसलाई पहिचान गर्न सहयोग पुर्याउँछ। यस्तो प्रकारको प्रविधि अहिलेसम्म कुनै पनि रोगको उपचारका लागि प्रयोग गरिएको छैन। यदि यो सफल भएमा विश्वकै पहिलो एमआरएनए भ्याक्सिन सावित हुनेछ। (एमआरएनए भ्यनक्सिनले कसरी काम गर्छ?)
यूनिभर्सिटी अफ अक्सफोर्ड
नाम : चाडोक्स१ एनकोभ-१९
कम्पनी : बेलायतमा अवस्थित विश्वविद्यालय। यूनिभर्सिटी अफ अक्सफोर्डले बायोफर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकासँगको समन्वयमा भ्याक्सिन निर्माण गरिरहेको छ।
यो भ्याक्सिनले कसरी काम गर्छ?
यूनिभर्सिटी अफ अक्सफोर्डले निर्माण गरिहेको भ्याक्सिनलाई भाइरल भेक्टर भ्याक्सिनका रूपमा पनि बुझिएको छ। यो भ्याक्सिनले मानव शरीरभित्र इस्पाइक प्रोटिनले इम्युन सिस्टम बलियो बनाउन सहयोग गर्नेक किसिमको हुन्छ। एस्ट्राजेनेका र अक्सफोर्डले सो भ्याक्सिनको अर्बौं डोज निर्माण गर्ने सहमति गरिसकेका छन्।
सिनोभ्याक
नाम : कोरोना भ्याक
कम्पनी : यो चिनियाँ बायोफर्मास्युटिकल कम्पनी हो। यसले ब्राजिलियन रिसर्च सेन्टर बुटन्टनसँगको समन्वयमा कोभिडविरूद्धको भ्याक्सिन निर्माण गरिरहेको छ।
यो भ्याक्सिनले कसरी काम गर्छ?
यो कोरोनाभ्याक इनयाक्टिभेटेड भ्याक्सिन हो। अर्थात् यसको प्रयोग संक्रमित नभएका व्यक्तिमा गरिन्छ। जब इनयाक्टिभेटेड प्याथोजेन्सले कुनै पनि रोगहरू उत्पादन गर्न सक्दैनन्। त्यसका साथै यसले अन्नुअल इन्फ्लुएन्जा भ्याक्सिनजस्तै इम्युन रेसपोन्सलाई पनि सक्रिय राख्न मद्दत गरिरहेको हुन्छ। गत जुलाई ३ मा ब्राजिल रेगुलेटोरी एजेन्सीले यो भ्याक्सिनलाई तेस्रो चरणमा परीक्षण गर्न अनुमति दिएको थियो।
सिनोफार्म
नाम : नोन
कम्पनी : यो चिनियाँ स्टेट-रन फर्मास्युटिकल कम्पनी हो।
यो भ्याक्सिनले कसरी काम गर्छ?
सिनोफार्मले पनि सिनोभ्याकले जस्तै इनयाक्टिभेटेड सार्स-कोभ-२ भ्याक्सिन निर्माण गरिरहेको छ। सन् २०२० को अन्त्यसम्ममा तेस्रो चरणको परीक्षण सकिने र सार्वजनिक रूपमा वितरण गरिने कम्पनीले जनाएको छ। यो भ्याक्सिनको प्रारम्भिक चरणमा र्यान्डम परीक्षण गरिएको समाचार जामा नेटवर्कमा प्रकाशित गरिएको थियो।
त्यो चरणमा परीक्षण गरिएका सबैमा इम्युन सिस्टममा सकारात्मक सुधार आएको थियो। अहिलेसम्म यो भ्याक्सिनले कुनैपनि दीर्घकालीन असर देखाएको छैन।
मुर्दोख चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट
नाम : ब्यासिलस कालमिट-ग्वेरिन ब्रेस ट्रायल (बिसिजी)
कम्पनी : यो अस्ट्रेलियाको सबैभन्दा ठूलो चाइल्ड हेल्थ रिसर्च इन्स्टिच्युट हो। अहिले यो कम्पनीले युनिभर्सिटी अफ मेलबर्नसँगको समन्वयमा भ्याक्सिनको निर्माण गरिरहेको छ।
यो भ्याक्सिनले कसरी काम गर्छ?
करीब सय वर्षअघि ट्युबरक्युलोसिसबाट सुरक्षित राख्नका लागि बिसिजी भ्याक्सिनको निर्माण गरिएको थियो। पछिल्ला वर्षहरूमा यो भ्याक्सिनले मानव शरीरमा इम्युन सिस्टमलाई बढाउने र अन्य रोगसँग लड्न सक्ने क्षमतामा विकास गर्ने अनुसन्धानबाट पुष्टी भएको छ। अनुसन्धाताहरूले यो भ्याक्सिनले सार्स-कोभ-२ विरूद्ध समेत काम गर्नसक्ने भनी अनुसन्धान सुरू गरेका छन्। अस्ट्रेलियामा यो भ्याक्सिनको तेस्रो परीक्षण सुरू भएको छ। तर विश्व स्वास्थ्य संगठनले भने बिसिजी भ्याक्सिनले कोरोना भाइरसको संक्रमणबाट मानिसलाई सुरक्षित बनाउने विषयमा अहिलेसम्म कुनै प्रमाण नभेटिएको जनाएको छ।
क्यानसिनो बायोलोजिक्स
नाम : एडि-एनकोभ
कम्पनी : चिनिया बायोफर्मास्युटिकल कम्पनी
यो भ्याक्सिनले कसरी काम गर्छ?
क्यानसिनोले पनि भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरिरहेको छ। एडेनोभाइरसको कमजोर भर्सनलाई प्रयोग गरी सार्स-कोभ-२ पहिचान गर्नका लागि यसले स्पाइक प्रोटिन शरीरमा पठाउने काम गर्दछ। यसको परीक्षणको दोस्रो चरणको प्रारम्भिक नतिजा दी लान्सेटमा प्रकाशित भएको थियो। लनसेटमा प्रकाशित उक्त नतिजाअनुसार परीक्षण गरिएका धेरैजसो व्यक्तिमा यो भ्याक्सिनले महत्वपूर्ण र आधारभूल इम्युन निर्माण गरेको थियो। त्यसअनुसार यसले अहिलेसम्म कुनै प्रकारको साइड इफेक्ट नदेखाएको उल्लेख गरिएको थियो। चिनियाँ सरकारले भने यो भ्याक्सिन सेनाहरूले मात्र प्रयोग गर्न पाउने बताएको छ। क्यानसिनो मानिसमा भ्याक्सिनको प्रयोग गर्न पाउने अधिकार पाएको विश्वको पहिलो कम्पनी पनि हो।
यीलगायतका अरु पनि थुप्रै भ्याक्सिन पनि निर्माणका प्रक्रियामा छन्। तर कुनै भ्याक्सिनले पनि मानिसमा प्रयोग गर्नका लागि डब्लुएचओबाट स्वीकृति पाएका छैनन्।