लमजुङ | हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । ङिस्याङ गाउँपालिकाको मनाङ गाउँस्थित छिरिङ लोप्साङ गुरुङका अनुसार सोमबार बिहान १० बजेतिरबाट हिउँ परेको थियो ।
मनाङको माथिल्लो क्षेत्र मनाङ गाउँ वरपर सोमबार परेको हिउँ ।दिउँसो ३ बजेबाट भने रोकिएको उनले बताए । ‘माथिल्लो क्षेत्रको तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको छ । हिउँ जमेको छ,’ उनले भने, ‘बस्ती क्षेत्रमा केही मात्रामा जमेको हिउँ केही पग्लिएको छ ।’ उनका अनुसार राति हावाहुरी चलेको थियो । दिउँसो हिउँ परेको हो । गएका वर्षभन्दा एक महिनाअघि नै हिउँ परेको उनले बताए ।
नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार नार र फू गाउँ र आसपासमा हिउँ परेको छ । हिउाले बस्ती ढाकेको छ । तल्लो क्षेत्रमा भने कम परेको छ । उनले यस वर्ष नार्पाभूमि क्षेत्रमा ढिलोमात्रामा हिउँ परेको बताए । ‘पोहोर–परार त कात्तिकमै हिउँ परेको हो । अहिले बल्ल मंसिर लाग्दा पर्यो,’ उनले भने, ‘हिउँ परेपछि मानिस बाहिर निस्कन सकेका छैनन् । चिसो बढेको छ ।’
मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार माथिल्लो मनाङका सबैजसो क्षेत्रमा हिमपात परेको छ । २ हजार ८ सय मिटर माथिका सबैजसो ठाउँमा हिमपात भएको उनले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही बस्तीमा करिब २ फिटसम्म हिउँ परेको छ । साँझपख हिउँ केही पग्लिएको छ । चिसो अत्याधिक बढेपछि तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको प्रजिअ गिरीले बताए । ‘केही दिनदेखि साँझबिहान तापक्रम माइनसमा छ । माथिल्लो क्षेत्रमा हिमपात भएपछि सोमबार साँझ ५ बजेतिर तापक्रम माइनस ८ मा झर्यो,’ उनले भने ।
मनाङमा यस वर्ष ३ हजार मिटर उचाइमा कात्तिक १७ गते नै हिउँ परेको थियो । माथिल्लो क्षेत्रका केही बस्ती र डाँडाकाँडामा हिउँ परे पनि बस्ती नै पूरै ढाकिने गरी भने परेको थिएन । प्रजिअ गिरीका अनुसार गत वर्ष मंसिर २७ गते हिउँ परेको थियो । यस वर्ष चाँडै हिउँ परेको उनले बताए ।