वीरगंज | भाइतिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन पर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजुभाईवीचको आत्मियता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख,समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा भाइटीकालाई लिइन्छ ।
यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ ।
दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरि टिका लगाउने चलन पनि छ । यसरी तिहारका ५ दिन रमाइलो गरि मनाउने गरिन्छ । तिहारले हाम्रो साँस्कृतिक महत्व बचाइराखेको छ ।यस वर्ष भने विगत जस्तो छैन । कोरोना प्रभावका कारण खुलेर चाडपर्व मनाउन पाउने अवस्था छैन । तैपनि स्वास्थ्य मापदण्ड पूरा गरि दशैं मनाइयो , तिहार पनि अब यसरी नै मनाउनु पर्ने अवस्था छ ।
यस वर्षको भाइटीकाको साइत
यस वर्ष मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व परेको छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। मङ्सिर १ गते सोमबार मध्यान्हकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।