सिरहा | सिरहा प्रहरीले नक्कली नेपाली रुपैया सहित तीनजनालाई पक्राउ गरेको छ।बिहिबार गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश गोलबजारबाट खटेको संयुक्त टोलीले तीनजनालाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए।
सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ स्थित बिरेन्द्र महतोको घरमा डेरा गरी बसेका कल्याणपुर नगरपालिका वडा नं. ७ भेडियाका २५ वर्षीय को बिमलेन्द्र नायक, गोलबजार नगरपालिका वडा नं. १२ बेतौनाका २५ वर्षीय धिरज राय र २० वर्षीय संजय कुमार रायलाई पक्राउ गरिएको प्रवक्ता शर्माले जानकारी दिए।
तिनैजना सहित एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार, एचपी कम्पनीको ल्यापटप १ थान, कयानन कम्पनीको प्रिन्टर १ थान, प्लाष्टिकको फोल्डिङग सानो टेबल १ थान, स्केल स्टिलको ३ थान, कैची २ थान र मोटरसाईकल १ थान बरामद गरेको सिरहा प्रहरीले जनाएको छ।