ब्रसेल्स । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनले यूरोपको प्रतिस्पर्धा विरोधी कानूनको उल्लंघन गरेको यूरोपेली आयोगले निस्कर्ष निकालेको छ ।
आफ्नो लाभका लागि कम्पनीले स्वतन्त्र विक्रेताहरुको डेटाको प्रयोग गरेको बताइएको छ । यस मामिलामा कम्पनी विरुद्ध दोस्रो औपचारिक अनुसन्धानको पनि शुरु गरिएको छ ।
सन् २०१९ को जुलाईमा कम्पनीले प्रतिस्पर्धा विरोधी गतिविधि गरेको आशंकामा आयोगले छानबिन गरेको थियो । यस क्रममा कम्पनीले आफ्नो खुद्रा व्यवसायको लाभका लागि उसको अनलाइन मञ्चमा रहेका स्वतन्त्र विक्रेताहरुको व्यवसायिक डेटा प्रयोग गरेको पाइएको एक विज्ञप्तिमा आयोगले मंगलवार भनेको छ ।
कम्पनीले तेस्रो पक्षका विक्रेताहरुको गतिविधि सम्बन्धी डेटा आफ्नो लागि प्रयोग गर्नु नहुने आयोग प्रमुख मागरिथ भेष्ट्यागरले विज्ञप्तिमा भनेकी छिन् । एमाजनले भने आयोगको भनाइको खण्डन गरेको छ । एजेन्सी