वीरगन्ज । नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार पर्साका ५ र बाराका ४ जनागरी थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा थपिएका संक्रमितमध्ये एक जना बाहेक सबै सदरमुकाम वीरगञ्जका बासिन्दा हुन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० का दुई र वडा नम्बर ३ र ४ का एक/एक जना मा संक्रमण देखिएको छ । त्यसैगरी बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ का पनि एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए ।
डाक्टर चौरसियाका अनुसार बारा जिल्ल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नम्बर ४ का एक जना, सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का एक जना, महागढीमाई नगरपालिका वडा नम्बर ८ का एक र बारागढी गाउँपालिका वडा नम्बर ४ का एक जनागरी चार जनामा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएकाहरु २० वर्षदेखि ७५ वर्ष उमेर समुहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २० देखि २६ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए । सिटि भ्यालु २४ भन्दा कम रहेका संक्रमितले अन्यमा संक्रमण फैलाउने जोखिम बढी रहेको विज्ञहरुले बताउने गरेका छन् ।