पर्सा। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केन्द्र सरकार हिटलर शैलीमा चलेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मति भ्रष्ट भएकोसमेत आरोप लगाएका हुन् । पर्साको बहुदरमाई नगरपालिका वडा नं.२ पिपरामा आयोजित इमरजेन्सी सेल्टर भवनको शिलान्यास कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीको मति भष्ट भइसकेको कारण देशको स्वाभिमान र विश्वसनीयता विश्व माझ तल खस्किएको उनले आरोप लगाए । उनले भने,‘ओलीले कुन बेला के बोल्छन् थाहा हुँदैन, भगवान रामको जन्मभूमि प्रदेश २ को पर्साको ठोरी हो भन्ने अभिव्यक्तिका कारण प्रधानमन्त्री जस्तो व्यक्तिले देशकै इज्जत तल झारेका छन् ।’
केन्द्र सरकारको अढाई करोडको बजेटमा दैवी प्रकोप, बाढी, आगलागी, महामारीलगायतका समयमा स्थानीयलाई सेवा दिन निर्माण भइररहेको आपातकालीन सेल्टर भवनको उदघाटन कार्यक्रममा उनले देश अहिले निकै तरल अवस्थामा रहेको भन्दै नेकपा पार्टीको राजनीति पनि खतरामा फसेको टिपण्णी गरेका छन् ।
उनले भने, ‘नेकपाका नेता, नीति र नेतृत्व सबै असान्दर्भिक छ । मधेशी जनताले विगतमा गरेको आन्दोलनको जगमा देशमा आएको संघीय गणतान्त्रिक लोकतन्त्र नै खतरामा पर्दै गएको छ ।’ उनले नेकपाले लोकतन्त्रको मर्म र उपलब्धिलाई विभिन्न कानुन बनाएर सखाप पार्ने काम गरेको आरोप समेत लगाए । ‘संघीयताको तहमा विभिन्न कानुन बनाएर लोकतन्त्रलाई नेकपाको सरकारले काटिरहेको छ।
म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, संघीयता लौकीको चिचिला होइन, जसलाई हातको औंला देखाएपछि मुर्झाउँछ ।
संघीयता मधेशी, आदिवासी, जनजाति, दलित मुस्लिमलगायत सबैको छोराछोरीले रगत बहाएर शाहदत दिएर ल्याइएको उपलब्धि हो,’ उनले भने । संघीयतामा लोकतन्त्रलाई दुषित पार्न सकिने तर लोकतन्त्र खत्तम गर्ने आफैं सिद्धिएर जाने बताए ।
ओली र नेकपाले अहिले हिटलर शैलीको राजनीति नेपालमा अघि बढाएको भन्दै उनले मधेशी जनताले राणाकालमा पर्साको अलौमा लडाई गरेको, माओवादीलाई रौतहट गौरमा जवाफ दिएको सुनाए । उनले अगामी दिनमा यस्तै गतिविधि चलिरहे मधेशी जनताले आगामी चुनावमा नेकपा, ओली र प्रचण्डलाई कडा जवाफ दिने चेतावनी दिए ।
भारतमा प्रान्तीय सरकारलाई बलियो बनाउन केन्द्र सरकारले हरेक वर्षको ६० प्रतिशत बजेट दिने गरेको भन्दै उनले नेपालमा केन्द्र सरकारले राज्य सरकारलाई २ प्रतिशत पनि बजेट नदिएको आरोप लगाए । सरकारले बजेट नदिँदा संघीयताको मर्ममाथि नै प्रहार गरी मधेशी जनतालाई अधिकारबाट बञ्चित गर्ने प्रयास भएको उनको आरोप छ ।