कोभिड महामारी भन्दै विभिन्न कानुन लगाउने सरकारले जनताको उपचार गर्ने दायित्वबाट हात निकालेको छ । विपन्न जनताको उपचार हुने सरकारी अस्पतालमा पनि निजी अस्पतालको बराबर शुल्क सार्वजनिक गर्ने सरकारले कोभिड महामारीबाट अहिलेसम्म कतिको मृत्यु भयो भन्ने हिसाब समेत यकिन गर्न सकेको छैन ।
सरकारका दुई निकायले राखेको कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांकमा ठूलो अन्तर देखिएको छ । स्वास्थ्य मन्त्रालय र सेनाको तथ्यांकमा चार सयभन्दा बढीको फरक देखिएपछि सूक्ष्म अध्ययन गरेर वास्तविक तथ्यांक सार्वजनिक गर्न समिति बनाएको थियो । तर, तीन सातासम्म समितिले पनि संख्या यकिन गर्न सकेको छैन, जब कि मृतकको संख्या हरेक दिन बढेको छ ।
सेनाको तथ्यांकअनुसार १७ कात्तिकसम्म संक्रमणबाट एक हजार चार सयको निधन भइसकेको छ । तर, त्यही दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक गरेको तथ्यांकमा मृतकको संख्या नौ सय ८४ मात्रै छ । फरक–फरक तथ्यांक सार्वजनिक भएपछि दुई निकायबीच विवाद भएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
‘स्वास्थ्य मन्त्रालय र हाम्रो तथ्यांकमा मृतकको संख्या फरक परेको छ,’ सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘यो अन्योल समाधान गर्न समन्वयात्मक छलफल भइरहेको छ ।’ हिसाब मिलाएर मृतकको यकिन तथ्यांक सार्वजनिक गर्न गत २ कात्तिकमा स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रतिनिधि डा. अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे सदस्य रहेको समिति गठन गरिएको थियो ।
मन्त्रालयले तीन दिनभित्रै अध्ययन सकेर वास्तविक तथ्यांक सार्वजनिक गर्र्न समितिलाई भनेको थियो । तर, अहिलेसम्म रिपोर्ट आएको छैन । ‘दुवैतिरको तथ्यांक निक्कै सूक्ष्म ढंगले अध्ययन गर्नुपर्ने भएकाले समय लाग्यो । दुई–तीन दिनभित्रै हामी तथ्यांक सच्याएर सार्वजनिक गर्छौँ,’ सहसचिव रेग्मीले भनिन् । पछिल्लो समय मृतकको संख्याबारे सेना केही बोलेको छैन भने मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म एक हजार ७० जनाको मृत्यु भएको छ ।
सहसचिव रेग्मीले स्वास्थ्य मन्त्रालयसँग होम आइसोलेसनमा मृत्यु भएकाहरूको रेकर्ड नभएकाले पनि तथ्यांकमा फरक परेको हुन सक्ने बताइन् । ‘मन्त्रालयले होम आइसोलेसनमा भएको मृत्युको संख्या जोडेको छैन, सेनाले जोडेको छ, यसले मृतकको संख्यामा फरक परेको हुन सक्छ । कतिपय मृतकको नाम दोहोरिएकाले पनि समस्या आएको छ,’ उनले भनिन् । मन्त्रालयले अस्पतालहरूमा भएको मृत्युलाई मात्रै रेकर्डमा राखेको छ । होम आइसोलेसनमा मृत्यु भएका ३५ जनाको तथ्यांक मात्रै मन्त्रालयसँग छ । तीन तहको समन्वय नहुँदा र स्वास्थ्यका सिस्टममा वेलावेला समस्या आएकाले पनि तथ्यांकमा फरक देखिएको हुन सक्ने सेना र मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
गत १२ जेठको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनको जिम्मा सेनालाई दिएको थियो । त्यसयता सेनाले नै संक्रमणबाट मृत्यु भएका र शंकास्पदको शव व्यवस्थापन गर्दै आएको छ । त्यसैले सेनाको तथ्यांक तुलनात्मक रूपमा तथ्यको नजिक हुन सक्ने जानकारहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालले २५ हजारभन्दा धेरै संक्रमित धान्न नसक्ने भन्दै गम्भीर भएकालाई मात्रै अस्पताल आउन भनेको छ । अस्पतालमा भर्ना नपाएपछि ठूलो संख्यामा संक्रमित होम आइसोलेसनमा छन् । मन्त्रालयकै शुक्रबारसम्मको तथ्यांकअनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार नौ सय पाँच पुगेको छ । जसमध्ये २८ हजार नौ सय ९३ संक्रमित घरमै छन्, अस्पतालमा पाँच हजार नौ सय १२ मात्रै छन् ।
पछिल्लो २४ घन्टामा दश हजार एक सय ५३ नमुना परीक्षण गर्दा देशभर दुई हजार नौ सय नौजनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा चार हजार पाँच सय संक्रमित निको भएका छन् । अहिलेसम्म संक्रमितको कुल संख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको छ । त्यसमध्ये एक हजार ७० संक्रमितको मृत्यु भएको छ भने एक लाख ५२ हजार नौ सय आठजना निको भइसकेको मन्त्रालयले जनाएको छ ।
४६३ संक्रमित गम्भीर अवस्थामा
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार चार सय ६३ कोरोना संक्रमितको आइसियू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तीन सय ८० जना आइसियू र ८३ जना भेन्टिलेटरमा छन् ।
मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा एक सय ६९ जना आइसियू र ४४ जना भेन्टिलेटरमा छन् । त्यस्तै, प्रदेश १ मा ४३ जना आइसियू र १२ भेन्टिलेटरमा, गण्डकीमा ८९ जना आइसियू र १७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ६० जना आइसियू र ६ जना भेन्टिलेटरमा छन् । सुदूरपश्चिममा आठजना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । प्रदेश २ मा आठजना आइसियू र दुईजना भेन्टिलेटरमा तथा कर्णालीमा तीनजना आइसियूमा उपचाररत छन् ।
संक्रमण समुदायमा पुगेपछि मृत्यु बढ्यो : मन्त्रालय
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय संक्रमण तीव्र रूपमा समुदाय स्तरमा फैलिन थालेपछि मृत्यु हुनेको संख्या बढेको हो । ‘संक्रमण घरघरमा पुगेको छ । हिजो ५० वर्षभन्दा कम उमेरका व्यक्तिमा मात्रै कोरोना सीमित हँुदा मृत्युको संख्या न्यून थियो । अहिले वृद्धवृद्धामा समेत व्यापक फैलिएपछि मृत्यु बढेको हो,’ उनले भने ।
तर, नाम उल्लेख गर्न नचाहने स्वास्थ्य मन्त्रालयकै अर्का अधिकारी भने सरकारले परीक्षणको दर नबढाएका कारण मृत्यु बढेको हो । ‘कोरोना जति व्यापक बनेको छ, त्यसको अनुपातमा परीक्षण शून्यजस्तो छ, त्यसैले मृत्यु हुने संख्या क्रमशः बढिरहेको छ,’ उनले भने, ‘यसले के देखाउँछ भने कोरोना हामीले सोचेभन्दा धेरै छ । त्यसैले परीक्षणलाई व्यापक बनाउनुको विकल्प छैन ।’
……
कोरोना भएको सिफारिसका लागि ६ सय रुपैयाँ लिँदै भरतपुर महानगर
विवेक पोख्रेल/भरतपुर
कोरोना भाइरस संक्रमण भएको सिफारिसका लागि स्थानीय सरकारले शुल्क लिन थालेका छन् । चितवनको भरतपुर महानगरपालिकाले कोरोना निको भएको सिफारिसमा शुल्क लिएको छ ।
कोरोना बिमाको रकमका लागि संक्रमित भएको सिफारिस लिन वडा कार्यालय पुगेका एकजनाबाट भरतपुर महानगरले ६ सय रुपैयाँ शुल्क लिएको छ । आफ्नै खर्चमा उपचार गरेर निको भएका भरतपुर–९ का एकजना शुक्रबार वडा कार्यालय पुगेका थिए । उनीसँग वडा कार्यालयले निवेदन दस्तुर भनेर २५ रुपैयाँ र अन्य दस्तुर भनेर पाँच सय ७५ रुपैयाँ लिएको छ । कोरोना बिमा दाबी गर्न र कार्यालयको बिदा मिलाउन कोरोना संक्रमित भएको स्थानीय सरकारबाट सिफारिस लिनुपर्छ । त्यस्तो रिफारिस लिँदा वडा कार्यालयहरूले ६ सय रुपैयाँ शुल्क लिने गरेका हुन् ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सिफारिस शुल्क लिने गरेको स्विकारे । बिमा गर्ने वेला शुल्क नलिएको र त्यसको भुक्तानी लिने वेला शुल्क लिने गरेको उनको भनाइ छ । ‘बिमा गर्ने समयमा पनि स्थानीय तहको सिफारिस आवश्यक पर्छ, हामीले त्यतिवेला निःशुल्क गर्छौँ,’ जोशीले भने, ‘बिमाको भुक्तानी लिने वेलाको सिफारिसमा शुल्क लिने गरेका हौँ ।’न्यापत्रीका बाट सभार गरिएको छ।