वीरगञ्ज ।वीरगन्ज बाट बढ्यो कोरोनाको समयमा पनि कोइला को आयत । कोरोना महामारीका कारण अधिकांश उद्यम व्यवसायमा मन्दी आएका बेला मुख्य नाकाबाट कोइलाको आयात भने बढेको पाइएको छ । क्लिंकरको सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने पत्थर कोइलाको आयात उल्लेख्य वृद्धि भएको हो ।
वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महीनामा समीक्षा अवधिको तुलनामा ४२ प्रतिशत बढी कोइला भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा रू. १ अर्ब ८८ करोड मूल्यबराबरको १ लाख ४१ हजार ५२८ मेट्रिकटन पत्थर कोइला आयात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा रू. १ अर्ब ४२ करोड मूल्यको ९९ हजार ३८१ मेट्रिकटन कोइला भित्रिएको वीरगञ्ज भन्सारका सूचना अधिकृत विमल साहले जानकारी दिए । कोइलाको कुल आयातमध्ये ५० प्रतिशतभन्दा बढी वीरगञ्ज नाकाबाट हुन्छ ।
अहिले भारतमा कोइलाको भाउ घटेकाले केही उद्योगले ठूलो परिमाणमा ल्याएको आयातकर्ताले बताएका छन् । बजारमा सिमेन्टको माग खासै नभए पनि क्लिंकर उत्पादकले कोइलाको भाउ घटेको मौकामा ठूलो परिमाणमा भित्र्याएको एक आयातकर्ताले बताए ।
पछिल्लो समयमा क्लिंकर उत्पादनमा आधारित सिमेन्ट उद्योगमा नयाँ लगानी थपिएकाले बन्दाबन्दीका बेलामा पनि कोइला आयात बढेको दाबी आयातकर्ता माधव राजपालको छ । कोइलाको मुख्य खपत सिमेन्ट उद्योगमा हुन्छ ।
आयातित कोइलामध्ये करीब ७० प्रतिशत खपत क्लिंकर उत्पादनमा हुने राजपालले बताए । इँटा उद्योगमा पनि कोइलाको खपत हुन्छ ।
पछिल्लो समयमा ठूलो लगानीमा सम्राट्, रिद्धिसिद्धी र चिनियाँ लगानीको हुवाजिन सिमेन्ट उद्योग खुलेका छन् । केही उद्योगले क्लिंकर प्लान्ट थपेका छन् । अहिले डेढ दर्जनजति उद्योगले क्लिंकर उत्पादन गर्छन् ।