वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका पिसिआर प्रयोशालामा सोमबार राति सम्म गरिएको पिसिआर परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालमा पर्सा र बाराका विभिन्न स्थानमा ल्याइएको १ सय १७ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका ३, बाराका ३ र मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा पर्साबाट गएको ५७ जना र बाराबाट आएको ६० जनाको स्वाबको नमुनालाई परिक्षण गरिएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
पर्सामा थपिएका सम्पूर्ण संक्रमित वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३, १३ र २० मा एक/एक जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै पुरुष २७ वर्षदेखि ३१ वर्ष उमेर समुहको रहेका डाक्टर चौरसियाले बताए ।
चौरसिया अनुसार बारा जिल्लामा कलैया उपमहानगरपालिका वडा नम्बर १ मा एक जना र जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २ मा दुई जना गरी ३ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु सबै २१ वर्षदेखि ४४ वर्ष उमेर समुहका महिला हुन् ।
त्यसैगरी मकवानपुरका एक जनामा पनि संक्रमण देखिएको छ । उनि हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरुष हुन् ।
संक्रमण पुष्टि भएकाहरुको सिटि भ्यालु १९ देखि ३० सम्म रहेको डाक्टर चौरसियाले बताए ।