बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा उपचार गराइरहेका ६२ वर्षीय वृद्धको कोरोना संक्रमणका मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय वृद्ध छन्। उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।
कोरोनाको लक्षण देखिएपछि त्यही दिन उनको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना पुष्टि भएका उनलाई बाबा होटलको आइसोलेसनमा रहेको आइसियू कक्षमा भर्ना गरिएको थियो।
मृतक वृद्धको शवलाई व्यवस्थापन गर्न परिवारका सदस्य, नेपाली सेना र सशस्त्र प्रहरीलाई जानकारी गराइएको प्रजिअ तामाङले बताए। बाबा होटलको आइसोलेसनमा अहिले पनि चार जना कोरोना संक्रमित उपचाररत् छन्।
ती सबैको आइसियूमा उपचार भइरहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा इन्टरनेशनलका प्रमुख डा. असरफ हुसैनले बताए।
बारा र पर्सामा थप २१ जनामा कोरोना
प्रदेश-२ को बारा र पर्सा जिल्लामा थप २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। पर्साको नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा बारा र पर्साका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको १९५ जनाको स्वाब परीक्षण गर्दा पर्साका ५ र बाराका १६ जना गरी थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताए।
पर्साका १०७ जनाको पिसिआर परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये अधिकांश वीरगञ्ज महानगरकै रहेको डा. चौरसियाले बताए।
यस्तै, बाराबाट कूल ८८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा जिल्ला प्रहरी कार्यालय बाराका १ जना प्रहरी जवानसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. चौरसिया जानकारी दिए।